चितवन –
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र समानान्तर तयारी भइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति बनाएर वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको छुट्टै कार्यतालिकाअनुसार तयारी अघि बढाएको हो।
देउवा समूहले मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने उल्लेख छ।
यसै तयारीअन्तर्गत नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले चितवन क्षेत्र नं. २ को महाधिवेशन तयारी समिति संयोजकमा रचन कार्कीलाई मनोनयन गरेको छ। डा. शशांक कोइरालाद्वारा जारी मनोनयन पत्रमा जिल्ला तहका नेताकार्यकर्ताको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा कार्कीलाई जिम्मेवारी दिइएको उल्लेख छ।
यस्तै, भरतपुर महानगरपालिकाको महाधिवेशन तयारी संयोजकको जिम्मेवारी प्रमिश राईलाई दिइएको छ। राई नेपाली कांग्रेस निकट तरुण दल चितवनका जिल्ला उपाध्यक्षसमेत हुन्।
चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राईलाई जिम्मेवारी तोकिएसँगै देउवा समूहले जिल्लामा महाधिवेशन केन्द्रित संगठनात्मक गतिविधिलाई तीव्रता दिएको देखिएको छ।
देउवा समूहले देशभर महाधिवेशन तयारीका लागि जिल्ला संयोजक तथा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिरहेको छ। पछिल्लो समय सो समूहले विभिन्न जिल्लामा जिम्मेवारी तोक्दै महाधिवेशनको आन्तरिक तयारी अघि बढाएको समाचार सार्वजनिक भएका छन्।
यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर पार्टीभित्र फरक–फरक कार्यतालिकासहित तयारी भइरहेकाले आगामी दिनमा दुवै पक्षबीचको सहमति र आधिकारिक प्रक्रियाबारे थप निर्णय हुने देखिन्छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भने यसअघि नै १५औँ केन्द्रीय महाधिवेशनका लागि छुट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।











