काठमाडौँ ।प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । लमजुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैतृक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ ।
उहाँको लमजुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्य विन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैतृक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
महारथी थापा दम्पतीसँग पैतृक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र रु १४ लाखमा खरिद गरिएकोसमेत औँठीसहित हीरा हार छ । उहाँहरूसँग घर भाडा, शान्ति सेना र सरकारी तलब भत्तासमेत गरी मेगा बैङ्कमा रु एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैङ्कमा रु ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रु २० लाख २२ हजार ३८१ र अमेरिकी डलर छ हजार ७० रहेको छ ।
प्रधानसेनापति थापा र दीपासँग तलब भत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैङ्क र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँहरूले नेपाल बैङ्कबाट रु एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैङ्कबाट अटोलोन रु ३० लाख ऋण लिएकामा रु १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ । श्रीमती दीपाको रु २० लाख र छोरा रौनकको रु ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोबाट रु ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु २५ लाख ९० हजार ७३२ तथा आवास र बिमाबापत रु चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।
उहाँले सेनाको नेतृत्व सम्हाले लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो । महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुनुहुन्छ । तीन वर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवा निवृत्त हुँदै गर्दा उहाँले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।