चितवन ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेजीको माग राख्दै आज शुक्ररबार जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ ।एमसीसी खारेजी अभियान संघर्ष समिति , चितवनले प्रशासन कार्यालय घेराउ गरेको हो । उनीहरुले एमसिसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका थिए ।
प्रदर्शनका क्रममा समितिका सदस्यहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘दलालहरु होसियार’ लगायतका नारा लगाएका थिए । उनीहरुले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पनि नारा लगाएका थिए । सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमको सूचना पाएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
एमसिसी सम्झौताभित्र राष्ट्रघाती बुँदाहरु समेटिएकाले उक्त सम्झौता खारेज नै गर्नुपर्ने एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनका अध्यक्ष फणिन्द्र आचार्यले बताए । ‘अमेरिकाले एमसिसी सम्झौता संशोधन गर्न नमिल्ने बताइसकेकाले अब त्यो खारेज गर्नुको विकल्प नभएको उनको भनाई छ ।
एमसिसी सम्झौता खारेजीको माग राखेर संघर्ष समितिले केहि दिनदेखि निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ । चितवनबाट संघीय सांसदमा निर्वाचित भएका तीन जना सांसदलाई एमसिसी विरुद्ध उभिने कुरा सार्वजनिक रुपमा घोषणा गर्न समितिले अल्टिमेटम दिएको थियो ।
अल्टिमेटमको अवधि आज साँझ ६ बजे सकिँदै छ । उक्त अवधिभित्र सार्वजनिक रुपमा एमसिसीको विरुद्धमा उभिने घोषणा नगरे उनीहरुको घरनजिक विरोध प्रदर्शन गर्ने र कालो झण्डा गाड्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिव अजीव पौडेलले जानकारी दिए ।