चितवन, ०२ असोज – संविधान दिवसको अवसरमा भरतपुरमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ । शनिबार महानगरपालिकाको संयोजन र अन्य विभिन्न संघस्थाहरुको सहकार्यमा नारायणी नदी किनारमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख, एसपि ओम प्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख भगवान राज भण्डारी, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, भरतपुर महानगर पालिकाका प्रवक्ता एवं वडा न. १० का वडाध्यक्ष अरुण पिडित भण्डारीलगायत एक सय ५० जनाको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै महानगर उपप्रमुख शाहले भरतपुरलाई सुन्दर र सफा महानगर बनाउने सपना साकार गर्न सबैको यो अभियानमा जोडिनु पर्ने बताईन् ।
‘हाम्रो रहर, राम्रो सहर’ भन्ने मुल नारा सहित भरतपुर महानगरपालिका, वेवे ग्रुप नेपाल, द युनाईटेड चितवन, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा अन्य विभिन्न संघसंस्थाहरुले सरसफाई अभियान चलाइरहेका छन् ।