काठमाडौं । दिग्गज हास्यकलाकार रमेश केसी उर्फ मट्टारेको निधन भएको छ । मट्टारे उपनामले चर्चित ६९ वर्षीय कलाकार केसीको आइतबार निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र पुष्टि गरे ।
पछिल्लो समय ‘हर्के हवल्दार’ टेलिशृङ्खलामा रहेका उनी सोही टिमले बनाउन लागेको म्युजिक भिडियोको छायांकन सेटमा हुँदा अचानक निधन भएको हो ।
“उहाँको हर्के हवल्दार टिमको निर्माणमा बन्न लागेको म्युजिक भिडियोका लागि धर्मस्थलीमा हुँदा अचानक निधन भएको हो । आफ्नै बाइकमा छायांकन स्थल पुगेर टिमसँग बसेर चिया खाँदै गर्नुभएको केही मिनेटमै एक्कासी ढल्नुभएछ । पछि अस्पताल लगिएछ । त, चिकित्सकहरूले उहाँको पहिले नै निधन भएको पुष्टि गरेछन्,” अध्यक्ष खड्काले भने ।
नाचघरम सँगै काम गरेर विभिन्न स्टेज सोहरू सेयर गरेका खड्का उनलाई एक असल र अब्बल अभिनय क्षमता भएका सहकर्मीको रूपमा सम्झिन्छन् ।
लामो समयदेखि मुटुसम्बन्धी रोगले ग्रसित उनलाई केहीदिनदेखि सामान्य खोकी पनि लागिरहेको थियो ।
“अत्यन्तै अकल्पनीय दुखद खबर…केही बेर अगाडि वरिष्ठ कलाकर्मि श्री रमेश केसी ‘मट्टारे’ ज्यूले यो संसार त्याग्नु भएको दुःखद खबरले हामीलाई मर्माहत तुल्याएको छ…, भावपूर्ण श्रद्धाञ्जलीका अर्पण गर्दै, आत्माको चिरशान्तिको कामना…!,” अध्यक्ष खड्काले लेखेका छन् ।
कुनै समय टेलिशृङ्खला र चलचित्रको पर्दामा पातलो तर अब्बल सेन्सर ह्युमरका कारण उनी दर्शकको प्रिय हास्यकलाकार बनेका थिए ।