काठमाडौं । साहस उर्जा लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले रू. ७० करोड बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउने भएको हो । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि आईपीओ वितरण गरिसकेको छ ।
कम्पनीले साउन २९ गतेदेखि भदौ ११ गतेसम्म आयोजना प्रभावितमा आईपीओ विक्री गरी भदौ २८ गते बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा कम्पनीले ३५ लाख कित्ता शेयर बाँडफाँट गरेको हो ।
सर्वसाधारणका लागि निष्कासन हुने आईपीओ छिटोमा असोज १० गते सम्म विक्रीमा रहनेछ । उक्त समय अवधिमा पूर्ण आवेदन नपरेमा भने असोज २० गते सम्म विक्रीमा रहने मिति तय भएको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीले दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । यो शेयर खरीदका लागि सर्वसाधारणले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाकार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको छोटो परिचय :
यो कम्पनी साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट २०७० साल माघ १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । २०७१ साल भदौ २९ गते कम्पनी रजिष्ट्राको कार्यालयको निर्णय अनुसार यस कम्पनी प्राइभेट लिमिटेडबाट परिवर्तन भई पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला महानगरपालिका वडा नम्बर १ हात्तिसारमा रहेको छ । कम्पनीमा हाल ८ हजार ८७ जना संस्थापक शेयरधनीहरु रहेका छन् ।