काठमाडौं । डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१२, मूलबारीका ४५ वर्षीय राजेन्द्रकुमार पण्डित भनिने राजेन्द्र पण्डित छन् ।
वि.सं. २०६७ जेठ ४ गते बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. श्रेष्ठलाई चितवनको भरतपुर नगरपालिका–१०, हाकिमचोकस्थित हिमचुली विकास बैंकनजिक भित्री सडकबाट १२÷१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक बनाएको थियो । सोही समूहले एक करोड १० लाख रुपैयाँ बराबरको साढे तीन किलो सुन फिरौती लिएपछि डा. श्रेष्ठलाई अपहरणमुक्त गरेको थियो ।
पण्डित भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको र नेपाल आएको मौकामा मंगलबार नुवाकोटबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उनीविरुद्ध पुनरावेदन अदालत हेटौँडाबाट मुलुकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नम्बरबमोजिम सात वर्ष कैद र सोही महलको ७ नम्बरबमोजिम दुई वर्ष थप कैद गरी नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भइसकेको ब्युरोले जनाएको छ ।