काठमाडौं । नेपाली कांग्रेसको आगामी ९ गतेका लागि निर्धारित पालिका अधिवेशन नसर्ने भएको छ ।
वडा अधिवेशन भएका जिल्लामा ९ गते नै गर्ने र बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता प्रक्रियासंगत छानबिन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।
“महाधिवेशनका क्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेन । अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ,” प्रवक्ता शर्माले भने, “आजको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जहाँ समस्या छ, त्यहाँ प्रक्रियासंगत क्रियाशील सदस्यता टुंग्याउने, जहाँ वडा अधिवेशन भएको छ त्यहाँ वडा अधिवेशन नरोक्ने निर्णय गरेको छ ।”
बाँकी १३ जिल्लामा छिटो क्रियाशील सदस्यता टुंग्याएर ९ गतेभित्र वडा अधिवेशन सम्पन्न गर्ने भनिए पनि क्रियाशील सदस्यता विवाद टुंग्याउने मिति तय भएको छैन ।
त्यसैले त्यसपछिका अधिवेशनका लागि भने केन्द्रीय निर्वाचन समितिलाई प्रस्ताव गर्न भनिएको छ ।
“पार्टीको केन्द्रीय निर्वाचन समितिले त्यसपछिका प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका विषयमा आवश्यक छलफल गरी कार्यतालिका प्रस्ताव गर्नेछ,” प्रवक्ता शर्माले भने ।