चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरको भदौ महिनाको राजश्व सङ्कलन लक्ष्य भन्दा ४० करोड २७ लाख दुई हजार बढीले सङ्कलन भएको छ । भदौ महिनामा राजश्व विभागले ९३ करोड ६२ लाख ८१ हजार लक्ष्य दिइएकोमा उक्त महिनामा १ अर्ब ३३ करोड ६५ लाख ५३ हजार रुपैयाँ सङ्कलन गरेको हो ।
सङ्कलन भएको राजश्व मध्ये सबै भन्दा बढी अन्तःशुल्क शीर्षकबाट राजश्व असुली भएको छ भने सबै भन्दा कम व्याजदर शीर्षकमा २६ लाख ८२ हजार रुपैयाँ सङ्कलन गरेको छ । जस अनुसार अन्तःशुल्क शीर्षकमा ६३ करोड ६२ लाख ४० हजार लक्ष्य दिइएकोमा १ अर्ब ११ करोड ४८ लाख ७५ हजार रुपैयाँ सङ्कलन गरेको हो । यस्तै ब्याज कर शीर्षकमा १ करोड ८० लाख ७४ हजारको लक्ष्य दिइएको थियो ।
शिक्षा सेवा कर र स्वास्थ्य सेवा कर शीर्षकमा भदौ महिनामा कुनै पनि राजश्व सङ्कलन भएको छैन । उक्त महिनामा शिक्षा सेवा शुल्क शीर्षकमा विभागले २ लाख रुपैयाँ र स्वास्थ्य सेवा करमा ३ लाख ४२ हजार रुपैयाँका लक्ष्य दिएको थियो ।
यस्तै कार्यालयको आयकर र बहाल कर तथा मूल्य अभिवृद्धि कर शीर्षकमा भने लक्ष्य अनुसार कर असुल्न हुन सकेको छैन । जस अनुसार आयकर शीर्षकमा १२ करोड १३ लाख ९ हजार रुपैयाँ लक्ष्य दिइएकोमा ११ करोड ९९ लाख ९४ हजार रुपैंया सङ्कलन गरेको छ । यस्तै कार्यालयले बहाल कर शीर्षकमा २३ लाख ८२ हजार रुपैयाँ कर सङ्कलन गरेको छ । यो शीर्षकमा ३७ लाख रुपैयाँ लक्ष्य दिइएको थियो ।
कार्यालयले मूल्य अभिवृद्धि कर शीर्षकमा ९ करोड ६६ लाख ६० हजार कर असुल गरेको छ । यस शीर्षकमा १५ करोड ६५ लाख ४६ हजार रुपैंया लक्ष्य दिइएको थियो ।
कार्यालयका कर अधिकृत सुशील लम्सालले यो कार्यालयको मुख्य आम्दानीको श्रोत नै अन्तःशुल्क शीर्षक भएकोले यस शीर्षकमा बढी कर असुल हुने र अन्य शीर्षकमा कर सङ्कलनमा उतारचढाव आउने बताउनु भयो । ‘हाम्रो सबै शीर्षकमध्ये ८० प्रतिशत भन्दा बढीसम्म अन्तःशुल्कबाट आउने करको हिस्सा छ , उहाँले भन्नुभयो, सबै शीर्षकमा हरेक महिना लक्ष्य अनुसार कर उठ्छ भन्ने हुँदैन ।’ चाडपर्वका समयमा मदिराजन्य पदार्थको बढी उत्पादन र बिक्री पनि हुने भएकोले भदौ महिनामा अन्तःशुल्क शीर्षकमा राजश्व सङ्कलन बढेको हो ।
उहाँका अनुसार आयकर तिर्ने समय पनि नभएको, नियमित उठ्ने बहाल कर स्थानीय तहमा गएको र व्यावसायिक भवनको बहाल कर पनि नियमित नउठ्ने गरेकोले शीर्षक अनुसारको लक्षित कर सङ्कलन हुन नसकेको हो । ‘विभागले अघिल्ला बर्षहरूको ट्रेण्ड हेरेर हरेक शीर्षकको लक्ष्य दिएको हुन्छ । तर सोही अनुसार सबै शीर्षकमा लक्ष्य भन्दा बढी र उही अनुपातमा कर असुल भने हुँदैन ।’ लम्सालले भन्नुभयो ।
मूल्य अभिवृद्धि शीर्षकमा उठ्ने करमा आर्थिक गतिविधि अनुसार २ महिनापछि मात्र यसको असर देखिने उनको भनाई छ । ‘कुल कलेक्सनमा हामी सन्तोषजनक छौँ, उहाँले भन्नुभयो, कोरोना कहर पनि कम भयो अब आगामी महिना कर कलेक्सनमा थप सुधार हुने आशा गर्न सकिन्छ ।’
विभागले यस कार्यालयलाई चालु आर्थिक वर्षका लागि २० अर्ब ६५ करोड २५ लाख ७ हजार रुपैयाँ लक्ष्य दिएको छ ।