चितवन । चाडपर्वमा दुर्घटना बढ्दै गएको भन्दै विभिन्न सचेतना कार्यक्रम सहित चितवन ट्राफिकले सक्रियता बढाएको छ । अन्य समय भन्दा चाडपर्वमा चालकल बढी लापरवाही र सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु चढाउने गरेको भन्दै दुर्घटना न्यूनिकरण गर्न थप सक्रियता बढाएको हो ।
चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार यो पटकको चाडपर्वमा चितवनमा बढी दुर्घटना भएकोले सक्रियता बढाईएको हो । यसमध्ये पनि भित्रि सडकमा भएका अधिकाँश दुर्घटनामा चालकको दोष देखिएको भन्दै नयाँ योजना अनुसार दुर्घटना न्यूनिकरण गर्न चेतनामूलक कार्यक्रम सहित चेकजांँचलाई कडाई गरिएको थापाले बताउनु भयो ।
जस अनुसार आज जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले ’मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, सिट क्षमता भन्दा बढी यात्रु नबोकौं, तिव्रगतिमा सवारी नचलाऔं, ट्राफिक नियमको सदैव पालना गरौं, थकान र तनावमा सवारी नचलाऔँ भन्ने लेखीएको प्ले कार्ड सहित जिल्ला स्थित राजमार्गको बिभिन्न स्थानमा सवारी चालकलाई सचेत गराएको थियो ।
त्यस्तै सवारी दुर्घटना न्यूनिकरणको लागी आज नै भरतपुर महानगरपालिका १ आँपटारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढ देखि मुग्लिङ तर्फ जाने सवारी साधनलाई लक्षित गरी चितवन अटो मेकानिकल व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा यान्त्रिक परीक्षण गरिएको उहांँले जानकारी दिनुभयो ।
सबै प्रकारका सवारी साधनहरुको यान्त्रिक परिक्षण गरिएकोमा आज ४४ वटा सवारी साधन चेकजाँच गरिएकोमो बत्तीको अवस्था ठिक नभएको, टायरमा हावा कम भएको, फ्युल पम्पमा समस्या, ब्रेक आयल कम भएको जस्ता समस्या भेटिएको ट्राफिक प्रहरी कार्यालय,चितवनले जानकारी दिएको छ ।
यान्त्रिक तथा प्राविधिक समस्या रहेका सवारी साधनहरुलाई सम्झाई बुझाई नियमित सवारी परीक्षण गरी संचालन गर्नुका साथै सचेत गराई नियमानुसार कारवाही समेत गरिएको प्रहरीले जनाएको छ ।