काठमाडौं । विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् ।
दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ । अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरूले माग गरेका छन् ।
यसरी माग गर्नेमा अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ)का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल छन् । रासस