काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन् ।
साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवत्को प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे ।
नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको बताए । राष्ट्रिय विभूति साख्वाःको अतुलनीय योगदानलाई जनस्तरमा प्रचारप्रसार गर्ने र नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता एवं सांस्कृतिक महत्त्वका विविध पक्षबारे आम नागरिकलाई जानकारी गराउन जरुरी भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले साख्वाःको योगदान जनतासम्म पुग्ने मात्र होइन, धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण भई हाम्रा सांस्कृतिक परम्पराको महत्त्व पनि प्रष्ट हुने विश्वास व्यक्त गरे । नेपाल संवत् ११४२ न्हुदँको उपलक्ष्यमा साख्वाःको मानव सेवाभावप्रतिको भावनालाई उच्च सम्मानका साथ कदर गर्दै उनको अनुकरणीय योगदानलाई प्रचारप्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पुर्याएर सकारात्मक सन्देशको प्रवाह गर्नुपर्नेमा देउवाले जोड दिए ।
यस कार्यमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, अभियानमा योगदान पुर्याउने व्यक्तित्वसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा उनले सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरे । रासस











