नेपाली काँग्रेसका पुराना नेता रामकृष्ण घिमिरे पहाडी जिल्ला लमजुङमा २००९ सालमा जन्मिएर निक्कै पछि भित्री मधेशको चितवनलाई राजनीतिक र कर्म क्षेत्र बनाउँदै अघि बढ्नुभयो । उहाँ काँग्रेसीवृत्तमा निक्कै शालीन र भद्र व्यक्तिका रुमपा चिनिनुहुन्छ । कसैलाई ठुलो स्वर गरेर चिढ्याउनु भन्दा नरम बनेर मन जित्ने शैलीलाई काँग्रेस कर्याकर्ताले खुवै मन पराउँछन् ।
लमजुङ मै विद्यार्थी जीवनबाट उहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । त्यहाँ नेपाल विद्यार्थी संघको स्थापना र वैधानिकताको लागि संघर्ष चल्दा उहाँलाई पक्राउ गर्न तत्कालिन प्रहरीले पूर्जी काट्यो । त्यसपछि बसाई सरेर चितवन आउनुभयो ।
रोकिएको विद्यार्थी जीवनलाई भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमार्फत २०२८ सालबाट निरन्तरता दिदैँ राजनीतिक जीवनलाई पनि पुर्नजीवन गर्नुभएको हो । त्यहाँ उहाँले नेपाल विद्यार्थी संघको सभापति र स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष दुबैमा अब्बल नेतृत्व दिनुभयो । त्यो बेला उहाँ चितवनमा पढाइको शिलशिलामा मात्रै आउनुभएको थियो ।
विद्यार्थी संघको निर्वाचन र अर्को निर्वाचन एकैदिन पारेको भन्ने विषयमा भएको आन्दोलन चर्कँदा प्रहरी दमनमा परेको उहाँ स्मरण गर्नुहुन्छ । त्यसैले निर्वाचनमा सहभागिता जनाउन पाउनु भएन । “बेस्सरी कुटेपछि म अस्पताल नै भर्ना हुनुपरेको थियो”, उहाँले त्यो क्षेण सम्झनु भयो । उपचार गरेर निको भएपछि फेरि उहाँको राजनीतिक सक्रियता पुरानै शैलीमा अघि बढाउनुभयो ।
त्यहीबेलादेखि बल्ल उहाँले चितवनमा स्थायी बसोबास थाल्नुभयो । पार्टीको जिल्ला समितिसमेत नभएको त्यो अवस्थामा विद्यार्थी संघ कै सक्रियतामा पहल अघि बढेको उहाँले बताउनुभयो । विसं २०३३ साल पुस १६ गते भारतमा रहनु भएका महामानव बीपी कोइराला नेपाल आउनु भएको थियो । त्यो समयमा नेता घिमिरे भने उच्च अध्ययनका लागि काठमाडौँमा जानु भएको थियो । विमानस्थलमै पुगेका उहाँलाई चितवनमा जिल्ला समिति गठन गरेको भनेर स्याबासी दिर्दै कोइरालाले उच्च सम्मानका साथ पुरस्कृत गर्नु भएको स्मरण उहाँसँग ताजै छ ।
त्यहाँ नै बीपी पक्राउ गरेपछि उहाँ पनि जेल पर्नुभयो । पछि कोइराला जेलमुक्त भएपछि घाँटीको उपचारका लागि अमेरिका जानुपर्ने भयो । त्यही बेला तत्कालिन उच्च नेता कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल लगायतका नेताहरुसहित घिमिरे पनि जेलबाट छुट्नुभयो । अनि पुनः जिल्ला फर्केर जिल्ला सदस्यको भूमिकाका सक्रिय हुनुभयो । उहाँले राजनीतिक गतिविधि कै कारण २०३४ सालमा फेरि जेल परेको सुनाउनुभयो । विसं २०३६ सालको जनमतसंग्रह घोषणा भएपछि जेलमुक्त हुनुभयो ।
नेपाली काँग्रेसले जनमत संग्रहमा हार व्यहोरेपछि सोही समयमा उहाँले मंगलपुरमा विश्वप्रकाश माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर शिक्षण पेसा पनि अँगाल्नुभयो ।
घिमिरे विसं २०४३ सालको स्थानीय चिर्वाचनमा वुथ क्याप्चर गर्न नेता कृष्णप्रसाद भट्टराईको निर्देशनमा अघि बढ्नुभयो । त्यसलगत्तै सुरुभएको जनआन्दोलनमा जनआन्दोलन परिचालन समितमा उच्च सक्रियता जनाउनुभयो ।
कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ, देवेन्द्र सुवेदी र शेषनाथ अधिकारीसहितको पाँचजना आन्दोलन समितिमा थिए । पछि राजनीतिक अवस्था जटिल रहेको समयमा उहाँले कपास विकास समितिको अध्यक्षको भार पनि बेहोर्नुभयो । २०५१ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी गतिविधिलाई निरन्तरता दिनमा उहाँको योगदान ठुलो छ । तेस्रो जनआन्दोलनताका २०६२÷०६३मा जिल्लास्थित आन्दोलनका लागि पार्टीकातर्फबाट संयोजकको भूमिका निर्वाह गरेको सबै माझ छर्लँग्गै छ । गणतन्त्र आएपछि २०६४ सालमा चुनावमा उठ्ने धोको थियो । पार्टीले उहाँलाई टिकट दिन नसकेपछि जिल्ला सभापतिको पद दिएर उहाँले कुशलपूर्वक पार्टी हाँक्नुभयो ।
त्यसअघि पटकपटक उहाँले पार्टीका सचिव, उपभापति पद सम्हालिसक्नु भएको थियो । विसं २०७० सालमा पार्टी सभापति शुशिल कोइरालालाई चितवनबाट जिताउन पार्टी कार्यकर्तालाई एक ढिक्का बनाउनुभयो । उहाँले जितेर चितवन छाडेपछि २०७१ को उपनिर्वाचनमा उहाँ चुनाव जितेर संविधानसभा सदस्य बन्नुभएको थियो । त्यसपपछि महाधिवेसन समितिमा निरन्तर भूमिका निर्वाह गर्दै आएको उहाँले सुनाउनुभयो ।
पर्टीको सबैजसो संघर्ष र पार्टी विस्तारमा निरन्तर योगदान गर्नुभएका उहाँ पार्टीको केन्द्रदेखि तल्लो तहसम्मकै नेता कार्यकताका प्रिय हुनुहुन्छ । अबको पार्टी महाधिवेशनमा चितवन क्षेत्र नं ३ बाट खुलातर्फको महाधिवेसन प्रतिनिधिको उमेद्वारी दिन लाग्नुभएका उहाँ जितेर गएपछि केन्द्रीय सदस्य बन्ने योजना सुनाउनुहुन्छ ।
सानै उमेरदेखि पार्टी संघर्षमा होमिएर निरन्तर लागिरहेका व्यक्तिहरु निकै कम छन् । त्यसकारण पार्टीमा निरन्तर काम गरिरहेका र क्षमता भएका मानिस केन्द्रीय तहमा नहुँदा विधिको बाटोमा पार्टी जान नसकेको उहाँ दावीका साथ भन्नुहुन्छ । पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउँदै बीपीपथमा नेपालको राजनीतिलाई अघि बढाउनका लागि आफ्नो उमेद्वारी रहेको उहाँले प्रष्ट पार्नुभयो । “म जितेर गएँ भने केन्द्रीय समितिमा पनि यही धारणालाई महत्व दिने सोच बनाएको छु, नेता घिमिरेले भन्नुभयो ।
कतिपय अवस्थामा अन्य पार्टीसँगको गठबन्धनलाई उहाँ स्वीकार गर्नुहुन्छ । तर बारम्बार एउटै क्षेत्र र जिल्लामा गठबन्धनको नाममा अरु पार्टीसँग एलायन्स गरेर मत दिइराख्दा पार्टीको समर्थकमा निराशा पैदा भएर पार्टी कमजोर हुने सम्भावना उच्च रहेकाले त्यो परिपाटी अन्त्य हुनुपर्ने घिमिरेको मत छ । त्यसले गर्दा चितवनका पुराना नेताहरुले केन्द्र र देशकै नेतृत्वमा पुग्न नसकेको गुनासो उहाँको छ ।
शालीन र भद्र व्यक्ति रामकृष्ण घिमिरे
शालीन र भद्र व्यक्ति रामकृष्ण घिमिरे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु