चितवन ।नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव उत्तम जोशीले जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारीको तयारी गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थायी घर भएका उनको जन्म २०३५ सालमा तनहुँको साविक चिसापानी गाविसमा भएको हो । सानैदेखि नेपाली काँग्रेसको राजनीतिमा लागेका उनी अहिले पनि उत्तिकै सक्रिय छन् ।
‘म ११ बर्षको उमेरदेखिनै नेपाली काँग्रेसको राजनीतिक यात्रा शुरु गरेको हुँ । मेरो सक्रियता अहिले पनि कम छैन ।’ उनी गर्व गर्छन । नेपाली काँग्रेसको राजनीतिमा निकै सक्रिय युवा नेता जोशी जुझारु र इमान्दारी नेताको रुपमा नेता चिनिन्छन् ।
मावलीघर र आफ्नो घरको राजनीतिक पृष्ठभूमिबाट हुर्केका जोशी पछिल्लो पुस्ताका लागि प्रेरणाका श्रोत पनि हुन् । ‘मेरो मामा शंकरकान्त जोशी लमजुङ्ग जिल्ला सभापति र जिल्ला विकास समितिको सभापति हुनुहुन्थ्यो । मेरो बुबा नेपाली काँग्रेसको सक्रिय सदस्य । आमा तनहुंको महिला संघको अध्यक्ष र जिल्ला कार्यसमितिको सदस्य भइसक्नु भएको छ’ उनले आफ्नो पारिवारिक पृष्ठभूमि सुनाए ।
त्यसो त उनका दाई अमृत जोशी नेविसंघ राजनीति गर्दै मकाउको संस्थापक जनसम्पर्क समितिको अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४६ को आन्दोलनमा सहभागी हुँदै राजनीतिको प्रारम्भिक यात्रा तय गरेका उनी २०४९ सालमा तनहुंँकै स्थानीय स्कुल कमिटीमा अध्यक्ष भए । तनहुंँको राजनीतिबाट यात्रा शुरु गरेका उनी नेवि संघको जिल्ला सदस्य र सचिव भएर जिम्मेवारी पूरा गरिसकेका छन् ।
त्यसपछि भने झन् जोशीको जोश थपिंदै गयो । उनको राजनीतिक गति चितवन आएर तीब्र र फराकिलो बन्यो । ‘पढाईको सिलसिलामा म २०५१ सालमा चितवन आएपछि लगत्तै नेविसंघ बालकुमारीको इकाई सदस्य भएंँ’ उनले कलेज यात्राको राजनीतिबारे बताए । त्यसपछि उनी सोही कलेजको नेवि संघ इकाई सचिव र सभापति भएर जिम्मेवारी पूरा गरे । समयसँगै थप क्रियाशील र उर्जावान हुँदै गए उनी । उनले आफ्नो राजनीति यात्रालाई एकछिन पछि पनि थकाई मार्न दिएनन् ।
‘२०५३ स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा जिल्ला सदस्यको रुपमा मैले चुनाव जितें । २०५९ सालमा सभापतिको उम्मेदवार भएँ’ उनी भन्छन् । त्यसपछि उनी नेवि संघको सभापति र नेवि संघको केन्द्रीय सदस्य बन्न सफल भए । त्यतिमा मात्र उनले आफ्ना पाईला रोकेनन्, थकाई मारेनन् । उनको चर्चा थप चुलिँदै गयो । उनी हरेक चितवन काँग्रेसको मनमुटुमा बस्न थाले ।
‘नेपाली काँग्रेसको ११ औं महाधिवेशन अन्तर्गत चितवनमा भएको भरतपुर महानगरपालिका वडा नम्बर १० को काँग्रेसको सचिवमा निर्वाचित भएपछि १२ औं महाधिवेशनमा वडा नम्बर १० कै सभापति बन्न सफल भएँ’ जोशी सम्झन्छन् । यसपछि कांँग्रेसको १३ औं महाधिवेशनको अन्तर्गत जिल्लाको सचिवको रुपमा अत्याधिक मतले निर्वाचित हुन सफल भए । सामाजिक शास्त्रमा स्नाकोत्तरको अध्ययनलाई निरन्तरता दिँदै आएका उनी अहिले आफ्नो चुनावी नारालाई आर्थिक पारदर्शिताका बिषयलाई लिएर चुनावी अभियानमा होमिएका छन् ।
‘मेरो कांँग्रेसको राजनीति इमानदार निष्ठा र चरित्रका लागि हो । यो नै मेरो मुख्य एजेण्डा हो’ उनी भन्छन् । पार्टीको राजनीति निस्वार्थ हुनुपर्ने र जुनसुकै क्षेत्रमा पनि आर्थिक पारदर्शीता नभई अघि बढ्न नसक्ने उनको भनाई छ ।
तीन दशकभन्दा बढी निरन्तर पार्टीका विभिन्न पार्टीका तह तप्कामा आफ्नो भूमिका र जिम्मेवारी बहन गर्दै आएका पटक पटक विद्यार्थी राजनीतमा धरकपड, गिरफ्तार हिरासतमा परेका थिए । राजनीतिक आन्दोलनको क्रममा २०६२÷६३ मा घाइते समेत भए उनी ।
उनी राजनीतिमा मात्र सक्रिय छैनन्, सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुंँदै आएका छन् । सन् २००६ को भरतपुर शाखा जेसिजको अध्यक्ष, २०११ मा जेसिसको राष्ट्रिय उपाध्यक्ष निर्वाचित भए । परिवार नियोजन संघ चितवन, क्षयरोग निवारण संस्था र क्यान्सर समाज, चितवनको उनी आजीवन सदस्य हुन् ।
विभिन्न क्लब, शैक्षिक संस्थाकाको रुपमा आवद्ध भई काम गरिसकेका उनले समाजसेवीको छवी पनि उत्तिकै राम्रो बनाएका छन् । राजनीनिलाई पेशा होइन सेवाको रुपमा लिनु पर्ने उनको बुझाइ छ । पार्टी जिल्ला सभापतिको अभिभारा पाएमा आफूले जिल्लामा नेपाली कांग्रेसको बलियो पकड बनाएर सबैलाई एकवद्ध बनाउन लागिपर्ने बताउँछन् ।