सौराहा । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अब केही समयमा पर्यटकीय नगरी सौराहामा बन्द सत्र सुरु हुँदैछ । बन्दसत्रमा सम्बोधन, समसामयिक राजनीतिक प्रस्ताव पेस र पारित भएसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन सञ्चालनका लागि बन्दसत्रबाटै ‘निर्वाचन आयोग’ गठन हुनेछ ।
बन्दसत्र समाप्त भएपछि त्यसलगत्तै निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन पत्र दर्ता, दाबी÷विरोध र अन्तिम नामावली प्रकाशनलगायतका काम साँझ ५ बजेसम्म सम्पन्न भइसक्नेछन् ।
मनोनयन र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने काम अपरान्ह पाँच बजेसम्म सम्पन्न भएपछि विद्युतीय मतपेटिकामा उम्मेदवारहरुको नाम समावेश गर्ने काम साँझदेखि नै सुरु हुनेछ । प्राविधिकहरुले विद्युतीय मतपेटिकामा सम्पूर्ण उम्मेदवार सम्बन्धी डेटा इन्ट्री गर्न ६ देखि ८ घन्टा समय लाग्ने बताएका छन् ।
आज रातभर इन्ट्रीको काम सम्पन्न गरेपछि १२ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको छ । १२ मंसिरको बिहान ८ बजेदेखि सुरु हुने मतदान प्रक्रिया बेलुकी ५ बजेसम्म चल्ने । मतदानका लागि एक जना मतदातालाई करिब २५ मिनेट समय लाग्ने आकलनका आधारमा ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
विद्युतीय मतदानको लागि १०० वटा मेसिन प्रयोगमा ल्याइँदै छ । एमालेले पदाधिकारीका सर्बसम्मत गर्ने र केन्द्रीय सदस्यमा मात्र निर्वाचन गर्ने गरी तयारी गरेको छ । पार्टीका शीर्ष नेताहरुलाई पदाधिकारीमा व्यवस्थापन गर्ने गरी शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको आकार बढाएको छ ।
यसअघि २२५ सदस्यीय कमिटी रहेकोमा त्यसलाई बढाएर ३०१ सदस्यीय बनाइएको छ । शुक्रबार केन्द्रीय कमिटीले गरेको निर्णय बन्दसत्रबाट पास गरिने छ । बैठकले ९९ सदस्यीस पोलिटव्यूरो, स्थायी समिति ४५ सदस्यीय बनाउने निर्णय गरेको छ । एक वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष ७ जना र उपमहासचिव तीन जना रहनेछन् ।
कुल पदाधिकारी १५ बाट बढाएर १९ पु¥याइएको छ । यस्तै एमालेको सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्येबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । पाटीभित्रको विभिन्न आयोगहरु २५ सदस्यीय बनाउनेसमेत बैठकले निर्णय गरेको छ ।