भरतपुर । पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिको शनिबार यहाँ आयोजित एक कार्यक्रमका बिच चेपाङ्ग किशोरी रमिताले बिमोचन गर्नु भएको हो ।
मेम्चो चेपाङ्ग शव्द भएकाले चेपाङ्ग किशोरीबाट पुस्तकको बिमोचन गरिएको हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नु भएको छ । यस कृतिमा ११ वटा कथाहरु रहेका छन् । जस मध्ये मोम्चो शीर्ष कथा हो । यसको नामवाट कृतिको नाम नै राखिएको कथाकार पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।” चेपाङ्ग समुदायमा बालबिबाह हुने गर्दछ । कतिपयले यो समुदायमा बच्चाले बच्चा पाउँछन् भनेर भन्ने गर्दछन् ।
मेम्चोमा समसामाहिक विषय विस्तुमा केन्द्रित कथाहरु रहेका छन् । पराजुलीको यो कथा संग्रह दोस्रो कथा संग्रह हो । पराजुली एक वर्ष ६ महिना अघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गर्नु भएको हो ।
अक्षर समुह चितवनको आयोजनामा गरिएको बिमोचन कार्यक्रममा कृति माथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र आख्यानकार अश्विनी कोइरालाले समिक्षा गर्नु भएको थियो । श्रेष्ठले कथाको दम कथाकारिता संगै कथा शक्तिमा पनि उत्तिकै जोडीएको बताउनुभयो । कोईरालाले यो स्तरको कथा सबै पुस्तकमा भए पराजुली राम्रो साहित्यकार बन्ने भन्दै कथा लामो भएकाले सम्पादनमा ध्यान कम पुगेको टिप्पणी गर्नुभयो । कथा सरल भएकाले जो कोहीले पढ्न सक्ने उहाँको भनाई थियो ।
अक्षर समुहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारिता संगै साहित्य क्षेत्रमा पराजुलीको कलम चलेको भन्दै उहाँका कृति धेरैले रुचाएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव प्रसाद पराजुली, महिला अभियान्ता मिना खरेल, अक्षर समुहकी कोषाध्यक्ष मायाँ गुरुङ, लेखराम सापकोटा लगायतले कथा संग्रहको बारेमा चर्चा गर्नु भएको थियो ।
———