चितवन । एमसिसि खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसि विरुद्ध चरणबद्ध अभियान शुरु गर्न लागेको छ । शनिबार समितिले भरतपुरमा पत्रकार सम्मेलन गरी आफ्नो अभियान कार्यक्रम सार्वजनिक गरेको हो । एमसीसी विरुद्ध जिल्लाका १३ दलका राजनीतिक दलको समर्थन रहेको बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका सचिव अजीव पौडेलले एमसीसी सम्झौता नेपाल र नेपालीको हित विपरित रहेकोले यसको खारेजीको लागि चरणबद्ध अभियान शुरु गरिएको बताए । उनका अनुसार आजदेखि हस्ताक्षर अभियानलाई तीब्र पारिने, मंसीर २७ गते मसाल जुलुस गरिने र मंसीर २८ गते चितवन बन्दको आह्वान गरिएको छ । सरकारलाई दबाब दिनको लागि २८ गते देश भरका संघर्ष समिति शशक्त तरिकाले लागेको भन्दै उक्त दिन संसद भवन घेर्ने, देशभर प्रर्दशन धर्ना जुलुस कार्यक्रम गरिने भएको र यसैक्रममा चितवन बन्द गरिएको उनले बताए ।
राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले एमसीसी सम्झौता गरेर नेपाललाई रणभूभि र चीनको गतिविधि विरुद्ध भएकोले आफूहरु आन्दोलनमा उत्रिएको बताए । एमसीसी सम्झौता सर्तसहितको अनुदान भएकोले देश र जनताको लागि कत्तिपनि हितकर नहुने भन्दै उनले यो सम्झौता नेपालको संविधान भन्दा माथि र सार्वभौमसक्तालाई चुनौति दिने भएकोले यस विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको बताए । कार्यक्रम समितिका संयोजक फडिन्द्र आचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।