चितवन । नीजि विद्यालयमा चितवनकै उत्कृष्ट स्कुल लिटल फ्लावर स्कुल नारायणगढले विपन्नलाई खाद्यसामाग्री, जाडोका कपडा , बालबालिकालाई पाठ्य सामाग्री सहयोग गरेको छ । क्रिसमस दिनको अवसर पारेर शनिबार राप्ती नगरपालिकाका वडा नम्बर राप्ती १२ वाकराङ्गका विपन्न, चेपाङ्ग, गरीब समुदायलाई लक्षित गरी डेढसय घरपरिवारलाई उक्त सामाग्री वितरण गरेको हो ।
क्रिसमसको दिनमा स्कुलका फादरहरु, सिष्टरहरु, शिक्षकहरु सहितको टोलीले घरमै पुगेर ती सामाग्री वितरण गरेको स्कुलका प्राचार्य फादर रोवीले जानकारी दिनुभयो । हरेक धर्मको गन्तव्य मानवीय सेवा रहेकोले स्कुलले गरीब विपन्नलाई मलम लगाउन मदत गरेको भन्दै फादर रोबीले ती सामाग्री वितरण गर्न पाउंँदा आफूलाई अत्यन्त खुशी मिलेको बताउनुभयो ।‘ क्रिसमसमा गरीब दुःखीको सेवा गर्नु हाम्रो धर्म र भाग्य पनि हो उहांँले भन्नुभयो, उहांँहरुलाई सहयोग गर्न पाउंँदा भगवान ‘यशु’ मिलेको अनुभव भयो ।’ क्रिसमसमा हुने भड्किलो प्रवृत्ति र फजुल खर्च कम गरी गरीब दुःखीलाई सहयोग गर्दा समाजमा समेत सकारात्मक सन्देश जाने उहांँले बताउनु भयो ।
स्कुलले ती वस्तीहरुमा १५० जना घरपरिवारलाई एक महिनालाई पुग्ने चामल, तेल, दाल, नुन जस्ता खाद्य सामाग्री वितरण गरेको थियो भने ती परिवारलाई मफलर, जकेट, स्वेटर लगायतका न्यानो कपडा वितरण गरेको थियो ।
यस्तै विपन्न परिवारका ८० जना बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस भन्ने हेतुले कापी,कलम वितरण गरेको फादर रोवीले बताउनु भयो । स्कुलले अध्ययन अध्यापनको साथै आगामी दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने फादर रोवीको भनाई छ ।
यसअघि पनि स्कुलले लिटिल फ्लावर सोसाइटी संग सहकार्य संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भुकम्प ,बाढी पहिरो तथा कोरोनाकालमा खाद्यसामाग्री , लत्ताकपडा, पोषणयुक्त खाना तथा फलफूल लगायत गरी लाखौं रुपैंयाका सहयोग गर्दै आएको छ ।