चितवन । चितवनका सुनचाँदी व्यवसायीहरुले सुनचांँदी सहज रुपमा आपुर्ति हुन सक्दा व्यवसाय सञ्चालनमा कठिनाई भएको गुनासो गरेका छन ।
शनिबार विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सेभिङ्ग ग्रुप कम्पनी लिमिटेड (बिजीएण्टस ग्रुप )को दोस्रो साधारणसभामा बोल्दै व्यवसायीले सधैजसो सुनचांँदी र कच्चा पदार्थको अभाव हुने भन्दै गुनासो गरेका हुन् । व्यवसायीले राष्ट्रको कमजोर नीतिका कारण सुनचांँदी व्यवसायी विस्थापित हुँदै गएको , अन्तराष्ट्रिय अन्य कम्पनीले आफ्नो व्यवसाय माथि हस्तक्षेप गरेको , करको दायरा फराकिलो बनाईएको, व्यवसायीको पक्षमा नीति नभएको, दक्षजनशक्तिको अभाव हुंँदै गएको भन्दै आफ्ना माग वागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मिलनबाबु श्रेष्ठ समक्ष ध्यानाकर्षण गराएका थिए ।
विजीएण्टस ग्रुपका परिकल्पनाकार एवं नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले पुस्तौंदेखि विश्वकर्मा समुदायले यस पेशा व्यवसायलाई अंगाल्दै आएपनि पछिल्लो समय यो पेशा व्यवसाय संकटमा पर्दै गएको बताए । ‘बजारमा अन्तराष्ट्रिय कम्पनी र धनाढ्य को हालीमुहाली छ उनले भने , अब हामीजस्ता साना व्यवसाय धराशायी हुनुपर्ने बाध्यता भयो ।’ सरकारको नीतिनै साना व्यवसायी मैत्री नभएकोले चाहेको बेला राज्यले तोकेको सुन खरीद गर्नपनि समस्या भएको उनको भनाई छ । साना व्यवसायलाई पलायन बाट रोक्न , सुनमा गुणस्तरीय कायम राखी अन्र्तराष्ट्रिय स्तरमा बजार विस्तार गर्न विजीएण्टस ग्रुपको स्थापना गरिएको उनले बताए । ‘यस व्यवसायलाई व्यवसायिक बनाउन र साना व्यवसायलाई पनि स्थापित गरी लगानीको वातावरण सिर्जना गर्न यो ग्रुपको अवधारणा ल्याएका हौं । रसाइलीलले भने । विजीएण्टस ग्रुपले नेपालमै रहेर साना साना पुजीलाई एकीकृत गरी एउटै गुणस्तर र हलमार्क को सुन बिक्री गर्नेछ । यसको अधिकृत पूजी ५० करोडको रहेको छ भने, जारी पुंँजी ३० करोडको रहने छ । हाल यस ग्रुपमा झण्डै पांँचसय जना शेयर सदस्य आवद्ध रहेका छन ।
ग्रुपका अध्यक्ष टुलक प्रसाद विश्वकर्माले यस व्यवसायमा १५ प्रतिशत विश्वकर्माको वर्चस्व र २ प्रतिशत विश्वकर्मा समुदायको कालिगढ रहेको भन्दै यसलाई थप व्यवसायिक बनाउन र स्वदेशमै गुणस्तरीय उत्पादन दिन विजीएण्टस सञ्चालनमा ल्याईएको बताए । हामीले यहीं दक्ष जनशक्ति उत्पादन गर्छौं, विक्री वितरण केन्द्र र सामुहिक विक्री कक्ष र औद्योगिकिकरण गर्ने नीति लिएका छौं । विश्वकर्माले भने । सुनमा शुद्धता कायम राख्न यसको गुणस्तर मापन मेशीन ल्याईसकिएको, सफ्टवेयर निर्माण गरिने र निकट भविष्यमा हलमार्क चिन्ह राखेर अन्तराष्ट्रिय स्तरमा पनि नेपाली मौलिक गहनाको प्रर्वद्धन गरिने उनको भनाई छ ।
सहभागी अन्य व्यवसायीले सुनचांँदी व्यवसायीलाई राज्यले हेनुपर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने, सिधै बैंकबाट सुन खरीद गर्न पाउनु पर्ने, पूर्ण रुपमा सुरक्षाको अनुमति दिलाउन सक्नुपर्ने भन्दै गुनासो गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा सुनचांँदी व्यवसायमा नौलो र उत्कृष्ट अवधारणा भएको कम्पनी स्थापना भएको भन्दै यसले आयात कम गर्न ठूलो मदत पुग्ने बताए । ‘यस कम्पनीले स्वदेशमै गुणस्तरीय गहना उत्पादन गर्दा एकातिर आयात न्यूनिकरण हुन्छ अर्कोतिर निर्यात प्रर्वद्धन हुन्छ ।’ मन्त्री श्रेष्ठले भने । गहना नेपालीहरुको कला संस्कृति र परम्परासंँग सिधा सम्बन्ध भएको भन्दै उनले चितवनमै उत्पादन गर्ने लक्ष्य लिइएपनि देशभरका व्यवसायीलाई समेट्नु पर्ने धारणा राखे । आफूले प्रदेशस्तरमा व्यवसायीको जायज माग सम्बोधन गर्ने , व्यवसायी मैत्री नीति बनाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साधारण सभामा सातै प्रदेशका सुनचांँदी व्यवसायी संस्थाको प्रतिनिधि तथा व्यवसायीको सहभागिता रहेको थियो ।