चितवन । विभिन्न व्यवसाय तथा पेशामा संलग्न रहेको नमस्ते ग्रुपले आफ्नो बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । भरतपुरमा बिहीबार ग्रुपले भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित होटल अशोकामा पहिलो बार्षिकोत्सव मनाएको हो ।
ग्रुपले आगामी बर्षमा चितवनमा घरजग्गा , अपार्टमेन्ट तथा पर्यटन क्षेत्रमा लगानी गर्ने योजना अघि सारेको छ । संस्थाका संयोजक दिपेश श्रेष्ठले कोरोनाका कारण पर्यटन क्षेत्र बौरिन समय लाग्ने भएकोले घरजग्गा कारोबारलाई पहिलो प्राथमिकता दिइएको बताए । ‘चितवन पर्यटनको पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो, उनले भने, कोरोनाका कारण हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’ घरजग्गा कारोबार सुस्त भएपनि कोरोनाले यस क्षेत्रलाई दिर्घकालिन असर नपार्ने भएकोले घरजग्गा कारोबार पहिले गरिने उनको भनाई छ ।
काठमाडौं पछि चितवन अपार्टमेण्ट र घरजग्गाको उत्तिकै आकर्षणको जिल्ला भएकोले यस क्षेत्रमा लगानी गर्न लागिएको संस्थाले जानकारी दिएको छ । यसका लागि चितवनको उपयुक्त स्थानको लागि जग्गा खोजी कार्यलाई तीब्र पारिएको संस्थाका सचिव भुपेन्द्र कर्माचार्यले बताए । हाल ३३ जना व्यवसायी तथा पेशामा संलग्न रहेको ग्रुपले चितवन पछि अन्य जिल्लामा समेत यो कारोबारलाई अगाडि बढाउने योजना बनाएको छ । ‘हाम्रो पहिलो प्राथमिकता चितवन हो त्यसपछि हामी अन्य जिल्लामा पनि यो कारोबारलाई अगाडि बढाउने छौं ।’ कर्माचार्यले भने ।
आगामाी दिनमा ग्रुपले संभावना भएका अन्य क्षेत्रमा पनि लगानी शुरु गर्ने छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ग्रुपले सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएको छ । सो अबसरमा संस्थाका कोषाध्यक्ष राजन पौडेलले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।