चितवन । चालु आर्थिक बर्ष ०७८,७९ को ६ महिनामा यातायात व्यवस्था सेवा कार्यालय चितवनद्धारा करीब ४० करोड आम्दानी भएको छ । कार्यालयका अनुसार चालु आवको पुष मसान्तसम्म कार्यालयले सबै शिर्षकमा गरी ३९ करोड ९२ लाख १८ हजार ८४४ रुपैंया राजश्व संकलन गरेको हो । कार्यालयले मुख्यतः यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना ,सवारी साधन कर,सवारी दस्तुर र आयकर शिर्षकमा कर संकलन गर्दै आएको छ । कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शिर्षकमा कर संकलन गर्ने गरेको छ भने सबै भन्दा कम प्रशासनिक दण्ड जरीवानाबाट असुलेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा सो अवधिमा ३२ करोड २८ लाख ९७ हजार १२६ रुपैयांँ र प्रशासनिक दण्ड जरीवानाबाट ५६ लाख ४६ हजार ३सय ८६ रुपैंया कर संकलन गरेको छ । यस्तै यातायात क्षेत्रको आम्दानीबाट २ करोड ८६ लाख ६८ हजार ४६० रुपैंया, सवारी दस्तुरबाट २ करोड ७३ लाख ७९ हजार ६०१ रुपैंया, र आयकर शिर्षकबाट १ करोड ४६ लाख २७ हजार २७० रुपैंया संकलन गरेको छ ।
सबैभन्दा बढी संकलन साउनमा कम भदौमा
कार्यालयले दिएको तथ्यांक अनुसार चालु आवको पुषसम्ममा सबैभन्दा बढी कर संकलन साउनमा भएको छ भने सबैभन्दा कम भदौ महिनामा संकलन भएको छ । जस अनुसार साउन महिनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैंया र भदौ महिनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैंया संकलन भएको छ । यस्तै असोज महिनामा ६ करोड ३५ लाख ८७ हजार ९८४, कात्तिकमा ६ करोड ७६ लाख ९६ हजार ४९८ ,मंसिर महिनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैंया र पुष महिनामा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैंया राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छूटेका सवारीधनीहरुले साउन महीनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महीनामा बढी कर संकलन हुने गरेको बताउनुुभयो ।
उहांँका अनुसार चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महीना भन्दा बढी राजस्व संकलन हुने गर्दछ । भदौ महीनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व संकलन भएको उहांँको भनाई छ । कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अहिले चालक अनुमतिपत्र नवीकरणबाट पनि थप आम्दानी भएकोले लक्ष्यभन्दा बढीनै राजश्व संकलन हुने कार्यालयको अनुमान छ ।