गोपाल कंडेल ,चितवन । भरतपुर विमानस्थलबाट एकबर्षमा दुई लाख बढी यात्रुले सेवा लिएका छन । यो विमानस्थल भएर २०२१ जनवरी देखि डिसेम्बर सम्म उडान र अवतरण गरी २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् । सो अवधिमा भरतपुर विमानस्थलमा ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो ।
कार्यालयका अनुसार २०२१ को जनवरीमा ४१० वटा उडान र अवतरण भएकोमा सो महिना १३ हजार १९३ यात्रुले सेवा लिएका थिए । यस्तै फेब्रुअरीमा ५४८ वटा उडान र अवतरणमा १७हजार ३२३ जना यात्रु, मार्चमा ५९४ वटा उडान र अवतरणमा १८हजार ७४३ यात्रु, अप्रिलमा ५६० वटा उडान र अवतरण भएकोमा १६ हजार ८८० जना यात्रुले सेवा लिएका थिए ।
कोरोनाका कारण मे महिनाको केही दिन र जुन महिनामा नियमित उडान र अवतरण नभएको र सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ । मे महिनामा ६० वटा उडान अवतरण भएकोमा १ हजार २११ जना यात्रुले सेवा लिएका थिए । भने जुन महिनामा ६ वटा चार्टर फ्लाईटबाट १३ जना यात्रुले सेवा लिएका थिए ।
यसैगरी जुलाईमा ५४६ पटक उडान र अवतरण भएको थियो सो महिनामा १७ हजार १०९ यात्रुले सेवा लिएका थिए । अगष्ट महिनामा ५६८ वटा उडान र अवतरण मा १८ हजार २५६ जना यात्रु, सेप्टेम्बरमा ७१४ वटा उडान अवतरण गरिएकोमा २४ हजार २८० जना यात्रु, अक्टोबरमा ८३४ पटक उडान अवतरण भएकोमा २४हजार ५५१ जना यात्रु , नोभेम्बरमा ८३४ वटा उडान अवतरणमा २५ हजार ५५१ जना यात्रु र डिसेम्बरमा ८५० वटा उडान अवतरण भएकोमा
२५ हजार ३३३ जना यात्रुले सेवा लिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दिपक विकले पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको बताउनु भयो । उडान संख्या थपिएसंँगै यात्रुको संख्या पनि बढ्दै गएको हो ।
‘उडान संख्या पनि थपिएको छ, विकले भन्नुभयो , यो संँगै हवाई सेवामा यात्रुको आकर्षण पनि छ ।’
उहांँका अनुसार बिशेष गरी विभिन्न राजनीतिक सभा सम्मेलन , चाडपर्व तथा नारायणगढ –मुग्लिन सडकखण्डको बाटो अवरुद्ध भएको बेला हवाईयात्रुको चाप बढ्ने गर्दछ । हवाई यात्रा छिटो छरितो , आरामदायी हुनुका साथै स्वास्थ्य सुरक्षा महसुस हुने भएकोले पनि यात्रुको चाप बढ्ने गरेको उहांँको भनाई छ । भरतपुर विमानस्थल भएर हाल दैनिक काठमाडौं ,पोखरा, भैरहवा उडान हुने गरेको छ ।