मकवानपुर, माघ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ। महासंघ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु पाँच लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
महासंघले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले जानकारी दिए। नेपालमा पहिलो पटक पत्रकार महासंघ मकवानपुर शाखाले एक वर्ष अगाडि कोष स्थापना गरेर मासिक रु चार हजारका दरले ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ।
चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि रु पाँच लाख सहयोग गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिए। शाखाका निर्वतमान
अध्यक्ष तथा पेन्सन कोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासंघ पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दै लैजाने अभियानमा लागेको बताए। शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सन कोष सभामा ल्याइएको उनले बताए।
पेन्सन कोषका लागि उपमहानगरपालिकाले अघिल्लो वर्ष रु १० लाख सहयोग गरेको थियो। यसअघि हेटौँडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १६४ पत्रकारको रु पाँच लाखको दरले दुर्घटना बीमा गरिसकेको छ। बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम रु एक लाख २२ हजार २७० महासंघलाई प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको छ।