चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोड बढी राहत वितरण गरेको छ ।
कार्यालयले सबै क्षति गरी चालु आर्थिक वर्ष ०७८, ७९को पुष महिना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैँया रकम राहत वितरण गरेको हो । कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य घाइते,सख्त घाइते, मानिस मृत्यु, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति घरगोठको क्षति र अन्नबाली क्षति वापत उक्त राहत रकम वितरण गर्दै आएको छ ।
राहत वितरण रकम मध्ये सबैभन्दा बढी रकम वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई गरेको छ । जसअनुसार मानिसको मृत्यु भएका परिवारजनलाई पुष महिनामा १ करोड राहत रकम वितरण गरेको छ । सख्त घाईते भएकालाई २० लाख २३ हजार ३०२ रुपैया,सामान्य घाइते भएकालाई ३ लाख ३८ हजार १०२ रुपैयांँ र पशुधनको क्षति वापत १० लाख ७८ हजार २० रुपैयांँ राहत रकम वितरण गरेको छ । वन्यजन्तु आक्रमणबाट मृत्यु हुने गरेको परिवारजनलाई प्रति व्यक्ति दश लाख र घाइतेको हकमा उपचार दर्च निकुञ्जले बेहोर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । ‘यदि कुनै वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा पनि बाहिर गएर मानववस्तीमा क्षति गर्छ त्यसको मात्रै राहत रकम पाइन्छ , उनले भने , यदि मध्यवर्ती क्षेत्रमा या निकुञ्ज क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको निकुञ्जले क्षतिपूर्ती र राहत दिंँदैन ।’
यस्तै पुषसम्ममा वन्यजन्तुले मानववस्तीमा भण्डारण गरेको अन्न क्षति गरे वापत ३५ हजार ४४० रुपैंया , घरगोठ क्षति गरेवापत १ लाख १७ हजार ३०० रुपैयांँ र अन्नबालीको क्षति गरे वापत १९ लाख ८३ हजार १०० रुपैंया राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ । ६ महिनाको अवधिमा वन्यजन्तुले मानव, पशुधन र अन्न क्षति गरी जम्मा ४८४ वटा क्षति गरेका थिए । कार्यालयका सूचना सूचना अधिकारी तिवारीले राहत वितरण सिफारीश समितिले पेश गरेको क्षतिको विवरण ,घटनाको प्रकृति अनुसार पीडितलाई राहत रकम वितरण गरिने बताए । यसका लागि घटना भएको वा क्षति भएको ३५ दिनभित्र पीडित या पीडित परिवारले निकुञ्ज कार्यालयमा निवेदन दिईसक्नुपर्नेछ ।