चितवन । चालु आर्थिक बर्ष ०७८,०७९को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा १३२ वटा वन्यजन्तुको उद्धार भएको छ । चालु आबको पुषसम्ममा प्राकृतिक तथा अन्य विपत्तीबाट उक्त संख्याका वन्यजन्तुको उद्धार गरिएको हो ।
घाइते भएर, बाटो बिराएर तथा खाडल, पासोमा फसेका विभिन्न संरक्षित वन्यजन्तुको उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
सबैभन्दा बढी अजिगंरको उद्धार
निकुञ्जले उद्धार गरिएका वन्यजन्तु मध्ये सबैभन्दा बढी अजिंगरको उद्धार गरेको छ । कार्यालयका अनुसार ६ महिनामा १०० वटा अजिंगर को उद्धार गरिएको थियो ।
यस्तै ४ वटा बाघ, एउटा गैंडा, ४ वटा चित्तल, ६ वटा मगर गोही,एक जरायो र कछुवा पांँचवटा उद्धार भएको थियो । अन्य उद्धार गरिएका वन्यजन्तुहरुमा ६ वटा सर्प ,लगुना,निलगाई, निर बिरालो एक÷ एक वटा र दुईवटा चिलको उद्धार गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभन्दा बाहिर गएर दुर्घटनामा परेका , मानव वस्तीमा छिरेका १३२ वटा वन्यजन्तुलाई उद्धार गरेर निकुञ्जमा छाडिएको बताए । ‘गैंडा, बाघ जस्ता वन्यजन्तु आफ्नो समुहबाट छुटेर र आहाराको खोजीमा भौतारिंदा कहिलेकाहीं मानववस्तीमा पुग्छन उनले भने, कोही दुर्घटना तथा अन्य स्थानमा फसेर बसेका हुन्छन ।’
अजिंगर र सर्प जस्ता वन्य जन्तु मानववस्तीमा जाने गरेको र स्थानीयले आफैं उद्धार गरेर र निकुञ्जलाई खबर गरेपछि उद्धार गरेर पहिलेकै वासस्थानमा फर्काउने गरेको तिवारीले बताए । ‘मगरगोही, चित्तल, कछुवा जस्ता वन्यजन्तु चाहिं कुनै तारमा ,कुनै जाल तथा पासोमा पनि अल्झिएको पाएका छौं । ’तिवारीले भने ।