चितवन। नेपाली कांग्रेस चितवन क्षेत्र नं १मा क्षेत्रीय समितिसहित चार वटा समितिको कार्यालय उद्घाटन गरिएको छ। क्षेत्रीय समिति, प्रदेश क्षेत्र समिति, खैरहनी नगर समिति र वडा नं ८ को वडा समितिको कार्यालय सयुक्तरुपमा उद्घाटन गरिएको हो। चार वटै कार्यालयको नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै नेताहरुले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै सो निर्वाचनमा जित हासिल गर्न आन्तरिक एकता आवश्यक रहेको बताए। गठबन्धनको नाममा फेरी पनि कांग्रेसलाई कमजोर बनाउने खेल सुरु भइसकेकोले स्थानीय तहको निर्वाचन जित्न कांग्रेसलाई गठबन्धन आवश्यक नरहेको उनीहरुको भनाई थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि शेरबहादुर परियारले सामुदायिक विद्यालयका अध्ययनरत विपन्न समुदायका एक दर्जन विद्यार्थीलाई स्कुल व्यागसहित न्यानो कपडा वितरण गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशका उद्योग तथा आपूर्तिमन्त्री मिलानबाबु श्रेष्ठ, प्रदेश सांसद गीता वाग्ले, संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, त्रिविका पूर्व उपकुलपति तीर्थ खनियाँ, राप्ती १२ का वडाध्यक्ष अर्जुन चेपाङ, महाधिवेन प्रतिनिधिहरु गीता देवकोटा, शेरबहादुर परियार, राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं ३ का क्षेत्रीय सभापति लालबहादुर उप्रेती, नेताहरु इन्द्रकमल बुढाथोकी, राजेन्द्र चौधरी, खैरहनी वडा नं ८ का वडा सभापति शंकर कँडेललगायतले मन्तव्य राखेका थिए ।
क्षेत्रीय सभापति किरणभूषणसिंह ओलीको अध्यक्षतमा भएको थियो ।