काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म १३ लाख ७३ हजार ८०१ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार यी आवेदनहरुबाट साँझ ५ बजेसम्ममा १ करोड ६० लाख ८५ हजार २७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ३१ दशमलव १३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन १ गतेसम्म मात्र विक्रीमा रहनेछ । विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ ।
यो आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापकतर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ ।
यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले रू. १०५ दशमलव ११ देखि रू. ३१५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. २ करोड ५५ लाखभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा रू. ३ करोड ५३ लाखभन्दा बढी पुर्याउने प्रक्षेपण गरेको छ ।