दाङ । दाङको तुलसीपुरमा रहेको जुत्ता चप्पल गोदाममा आगलागी हुँदा निधन भएका पाँच जनाको पहिचान भएको छ । निधन हुनेमा तुलसीपुर ५ बस्ने ४२ वर्षीय नजरद्दिन अली, अन्दाजी ५ वर्षीय बालक अविनद्दिन अली, १६ वर्षीय मसिन बकस, १४ वर्षीय हसन बकस र १२ वर्षीया साजिता खातुन रहेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
गएराती दुई बजेतिर भएको आगलागीमा घरभित्र फसेका उनीहरूको निधन भएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट ३८ वर्षीय अमर डाँगीको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
अझै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाँले बताउनुभयो । आगलागीका कारण ठुलो मानवीय सँगै करोडौँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
तुलसीपुर– ५ ‘ङ’ लाइन स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा करिब राती दुई बजेतिर आगलागी भएको थियो ।
यसैबीच ५ जनाको ज्यान जाने गरी भएको आगलागी घटनाको शोकमा तुलसीपुर बजार आजका लागि बन्द हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घ र तुलसीपुर चेम्बर अफ कमर्सले एक दिन आज बजार बन्द गर्ने निर्णय गरेका हुन ।
सङ्घ र कमर्शले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको चेम्बरका सचिव ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।