चितवन । चितवन जिल्लाको नीजि विद्यालयहरुमा उत्कृष्ट लिटिल फ्लावर स्कुल नारायणगढले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी मनाएको छ । स्कुलले आज विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी महिला दिवस मनाएको हो । स्कुलमा चितवन र नवलपरासी जिल्लाका गरी २० वटा स्कुलका २०० जना भन्दा बढी शिक्षिका हरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका सञ्चिता लुईटेल र विशिष्ट अतिथि मेड नेपाल संस्थाका प्रमुख डाक्टर रुत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुईटेलले नेपाली समाजमा महिलाको चरित्रको बिषयमा प्रश्न उठेको बताउनु भयो । ‘महिलाको चरित्रको बारेमा मात्र चर्चा हुन्छ पुरुषको चरित्रको बारेमा कसले के बोल्ने ? ।’उहांँले भन्नुभयो । महिलाका हक अधिकार संविधानमा सुनिश्चिता भएपनि व्यवहारमा कार्यन्वयन नभएको उहांँले बताउनु भयो । महिलाका हक अधिकारका विषयमा शिक्षिकाको भूमिका पनि उत्तिकै रहेकोले शिक्षिकाहरुले आफ्ना छात्राहरुद्धारा पनि सचेतना फैलाउन सकिने लुईटेलको भनाई थियो ।
सो क्रममा प्रतिक्रिया दिदै स्कुलका प्राचार्य फादर रोवी क्यूले स्कुलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको र अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा रचनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनु भयो । ‘चितवन जिल्ला र नवलपरासीका विद्यालयका शिक्षिकाबीच अन्र्तक्रिया , बहस, समस्या, चुनौतिका बारेमा छलफल तथा नलेज शेयरिङ्ग हुने कार्यक्रमलाई प्राथमिकता दिएका हौं, उहांँले भन्नुभयो, यसले समाजमा हुने महिला हिंसा, विभेद न्यूनिकरणमा मदत मिल्ने विश्वास छ ।’
यस्ता कार्यक्रमले महिलाहरुले आफ्नो हक अधिकारको बारेमा जानकारी हुनुका साथै समाजमा सकारात्मक सन्देश फैलाउन उत्प्रेरणा मिल्ने उहांँले बताउनु भयो ।
महिला दिवसकै अवसर पारेर स्ुकलले २५ बर्ष सेवा अवधि पुगेका विभिन्न स्कुलका शिक्षिकाहरुलाई सम्मान गरेको छ । स्कुलका प्रबन्धक गोविन्द पौडेलले सबै बिद्यालयका गरी २७ जना शिक्षिकालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको जानकारी दिनुभयो । स्कुलले यसको साथै शिक्षिकाहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता समेत गरिएको पौडेलले बताउनु भयो । कार्यक्रममा स्कुलकी सिष्टर जयाले स्वागत मन्तव्य दिनुभएको थियो । स्कुलले यसअघिपनि भुकम्प, बाढी पिडीत, कोरोनाकहरमा राहत सामाग्री वितरण गर्दै आउनुका साथै अन्र्तस्कुल खेल ,विज्ञान प्रतियोगिता सञ्चालन गर्दै आएको छ । स्कुल र दशजोड दुई गरी यहांँ भण्डै २ हजार चारसय विद्यार्थी अध्ययनरत छन ।