काठमाडौं । नेपालमा जति जनसंख्या छ, प्रत्येकसँग बैंक खाता छैन । तर बैंक तथा वित्तीय संस्थामा जनसंख्याभन्दा ७० प्रतिशत बढी बैंक खाता खुलेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा चालू आवको फागुन मसान्तसम्ममा ४ करोड १७ लाख ४२ हजार ९७९ ओटा खाता खुलेका छन् । यो खाताको संख्या कुल जनसंख्याभन्दा १ करोड २५ लाख ५० हजार ४९९ बढी हो । प्रतिशतमा ६९ दशमलव ९३ प्रतिशत बढी हो ।
केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जनसंख्या ३ करोड कम हुँदा बैंक खाता भने ४ करोड नाघेको छ ।
हालसम्म २७ ओटा वाणिज्य बैंकमा ३ करोड ६२ लाख १९ हजार ३६२ निक्षेप खाता खुलेका छन् । त्यसैगरी विकास बैंकमा ४९ लाख ४१ हजार २६ र फाइनान्स कम्पनीमा ५ लाख ८२ हजार ५९१ ओटा निक्षेप खाता खुलेका छन् ।
त्यसैगरी हालसम्म कर्जा खाता १८ लाख ७ हजार ७५२ खुलेका छन् । जसमध्ये वाणिज्य बैंकमा १४ लाख ५८ हजार ७५१, विकास बैंकमा ३ लाख ९ हजार १७५ र फाइनान्स कम्पनीमा ३९ हजार ८२६ ओटा कर्जा खाता खुलेका छन् ।
एउटै व्यक्तिले ४/ ५ ओटासम्म बैंक खाता खोल्ने गरेकाले पनि बैंकमा निक्षेप खाता बढी देखिएको बैंकरहरू बताउँछन् । यसरी एउटै व्यक्तिबाट धेरै बैंकमा खाता खोल्दा खातावाहकलाई घाटा लाग्ने गर्छ भने बैंक तथा वित्तीय संस्थालाई आयस्रोतको बाटो बन्छ । खाता वाहकहरूबाट बैंकले लिने सेवा शुल्क प्रत्येक वर्ष नै लिइरहेका हुन्छन् । यसले ग्राहकलाई घाटा लागि रहेको हुन्छ ।
हाल २७ ओटा वाणिज्य बैंक, १७ ओटा विकास बैंक र १७ ओटै फाइनान्स कम्पनी सञ्चालनमा छन् । ती बैंक तथा वित्तीय संस्थाले दिने मोबाइल बैंकिङ सेवा भने १ करोड ६४ लाख ७६ हजार ७०० जनाले लिएका छन् ।