चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८,०७९ को ९ महिनामा सवारी कारवाहीबाट २ करोड ३२ लाख २४ हजार राजश्व संकलन भएको छ । चालु आवको श्रावण देखि चैत्र सम्म जिल्ला ट्राफिक कार्यालय, चितवनले उक्त राजश्व संकलन गरेको हो । सो अवधिमा सबै सवारी साधन गरी २४ हजार ४६४ वटा सवारी साधन कारवाहीमा परेका थिए ।
सबैभन्दा बढी राजश्व र कारवाहीमा मोटरसाइकल
९ महिनाको अवधिमा सबै प्रकृतिका सवारीसाधनमध्ये सबैभन्दा बढी ६ हजार ५७६ वटा मोटरसाइकल कारवाहीबाट ५५ लाख १० हजार पांँचसय रुपैंया राजश्व संकलन भएको छ भने सबैभन्दा कम एक हजार १७६ ट्रयाक्टर कारवाहीबाट ११ लाख ३४ हजार पांँचसय रुपैंया राजश्व संकलन भएको छ ।
यस्तै दोस्रो सबैभन्दा बढी जीपकार कारवाहीमा परेका छन । सो अवधिमा ५हजार ५९३ वटा जीपकारबाट ५२ लाख तीनहजार रुपैंया राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार ४हजार ६४९ वटा ट्रकट्रिपरबाट ५० लाख २५ हजार रुपैंया, ३ हजार १०९ बस माईक्रो ,बस कारवाहीबाट २८ लाख ७८ हजार पांँचसय, र टेम्पो तथा अन्य सवारी ३हजार ३६१ वटा बाट २५लाख ७३ हजार रुपैंयांँ राजश्व संकलन भएको छ ।
जिल्लामा सवारीको चाप र संख्या मोटरसाइकलको बढी भएको र ट्राफिक नियम उल्लंघनको संख्यापनि मोटरसाइकलबाट हुने गरेकाले राजश्व संकलन पनि सोही मात्रमा बृद्धि भएको कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार मोटरसाइकलमा सवार गर्दा दुर्घटनाको संख्या साथै उल्लंघनका घटना बढी भएकोले मोटरसाइकल बढी कारवाहीमा परेका हुन् । कतिपय मोटरसाइकल चालकले चालक अनुमतिपत्र तथा ब्लुबुक नबोकी हिड्ने गरेकोले पनि कारवाहीमा पर्ने गरेको अधिकारीले बताए । अन्य सवारीको हकमा मापसे , लेन अनुशासन पालना नगर्ने, ओभरट्रेकिङ्ग, यान्त्रिक गढबढी , क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने लगायतका गल्तीको प्रकृति अनुसार पनि कारवाही संख्या घटबढ हुने गरेको उनले जानकारी दिए ।