चितवन । चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले कृषि उपजको उत्पादन र आपूर्ति खरिदमा संलग्न निकायबिच मुल्य, स्थान समयको आधारमा सम्पर्क गराउने उदेश्यले कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको हो ।
यस प्रविधिबाट किसानले आफ्नो उत्पादनको मुल्य प्रस्ताव गरी वेवसाईटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरिद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए ।
‘सूचना प्रणाली अगाडी बढेको अवस्थामा हामीले ‘चितवन मार्केट डट पिएमएमपि डट जिओभि डट एनपी’
मार्फत कृषि उपजको अवस्था दैनीक अपडेट गर्ने गरि अगाडी बढेका छौँ,’ उनले भने ‘यसले मुल्यको अवस्था र उत्पादन संगै किसान र व्यापारी बिच सम्पर्क गराएर मुल्य निर्धारण गर्न सहयोग पुग्छ ।’ वेवसाइट मार्फत किसानले कृषि उपजको आपूर्तीको विवरण र व्यापारीले खरिदको विवरण राख्न सक्नेछन् ।
भरतपुर महानगर फलफुल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मुल्य कृषकहरुले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए ।
यसले गर्दा किसान ठगिन नसक्ने र उपभोक्ताले पनि मुल्य कृषि उपजको प्रकृति र गुणस्तरीय अनुसार कृषि उपज पाउने छन ।
‘वेवसाइटको मुल्यसूचि हेरेर किसान र व्यापारीले आफुलाई चाहिने कृषि उपजको मुल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ ।’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्कभई सहजै कृषि उपजको बिक्रिमा सहज हुने देखिन्छ ।’ यस वेवसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।
कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेवसाइडको प्राविधिक सहयोग ड्रिम वर्क सोलुसनले गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तुहरुको खेर फाल्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्ने उदेश्यले दुई बर्ष अघिदेखि वेबसाइडको विकास गरेर अगाडी बढेको ड्रिम वर्क सोलुसनका निर्देशक सन्तोस जोशीले जानकारी दिए । उनले नेपालमा कृषि उपजको बजारिकरणमा सहज पु¥याउने गरि काम गरेको बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्ती पालिकाका किसानहरु सहभागी भैसकेका छन् । छुटेका किसानहरुलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए ।
वेवसाइटमा मुल्य सूचि, खरिद र विक्रि कर्ताको सिधै सम्पर्क गर्न सक्ने नाम, नम्बर उल्लेख गरिएको ड्रिम वर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमले जानकारी दिए । कृषि प्रवद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोड्ने प्रयास भएको भन्दै नियमित सञ्चालन गर्न अनुरोध गरे । यस प्रविधिले किसान र व्यवसायीलाई फाईदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए । यस वेवसाईट मार्फत किसान र व्यवसायीले आफ्नो विवरण राख्न सक्नेछन् ।