चितवन । चालु आर्थिक बर्ष २०७८,०७९को बैशाख महिनामा आन्तरिक राजश्व कार्यालय भरतपुरले लक्ष्य भन्दा भन्दा पांँच दशमलब शुन्य पांँच प्रतिशत राजश्व असुली गरेको छ । राजश्व विभागले कार्यालयलाई २ अर्ब २३ करोड ३८ लाख ६२ हजार लक्ष्य दिएकोमा उक्त महिनामा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार राजश्व असुली गरेको हो ।
कार्यालयले आयकर, बहालकर, व्याजकर, मुल्य अभिवृद्धि कर , अन्तःशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शिर्षकबाट कर असुली गर्दै आएको छ । यी शिर्षकमध्ये अन्तःशुल्क शिर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा करबाट सबैभन्दा कम राजश्व असुली भएको छ । जसअनुसार अन्तःशुल्क कर शिर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजार लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९ करोड ४६ लाख ७२ हजार राजश्व असुली गरेको छ भने शिक्षा सेवा करमा ४ लाख ८९ हजार लक्ष्य दिएकोमा ११ हजार रुपैंया मात्र असुली भएको छ ।
अन्त:शुल्क र आयकर बाहेक अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयले दिएको तथ्यांक अनुसार बैशाख महिनामा आयकर शिर्षकमा १० करोड १० लाख २८ हजार लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार रुपैंया कर असुली भएको छ । यस्तै बहालकर शिर्षकमा ५० लाख ८० हजार लक्ष्य दिएकोमा १९ लाख ५० हजार रुपैंया, व्याजकर शिर्षकमा ५ करोड ७२ लाख ९ हजार लक्ष्य दिएकोमा १ करोड १० लाख ३४ हजार रुपैयांँ असुली , मुल्य अभिबृद्धि करमा २३ करोड ३९ लाख ६ हजार लक्ष्य दिएकोमा १३ करोड ४ लाख ६४ हजार रुपैयांँ र स्वास्थ्य सेवा शुल्क शिर्षकमा ५५ लाख ३ हजार लक्ष्य दिएकोमा १६ लाख ८० हजार रुपैंया असुली भएको छ ।
कार्यालयका कर अधिकृत शुशील लम्सालले कार्यालयको मुख्य श्रोत अन्तःशुल्क भएकोले यो शिर्षकमा बढी कर असुल भएको बताउनु भयो । उक्त महिनामा आयकर तिर्ने महिना नभएको र मुल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकोले कम राजश्व असुली भएको उहांँले बताउनु भयो । ‘अहिले निर्माण कम्पनी तथा विकास निर्माण कार्यनै कम भएको अवस्था हो, उहांँले भन्नुभयो, सबै महिनामा सबै शिर्षकमा लक्ष्य भेट्टाउन मुश्किलनै पर्छ ।’ अबको दुई महिना राजश्व असुली हुने उपयुक्त समय हुने र लक्ष्य भन्दा बढी राजश्व असुल हुने उहांँको भनाई छ ।
विभागले कार्यालयलाई चालु आबको बैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार लक्ष्य दिएकोमा उक्त महिनासम्म १६ अर्ब ६४ करोड ७९ लाख राजश्व असुली गरेको छ । यो चालु आबमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैंया असुली लक्ष्य दिएको छ । कार्यालयले यो चालु आबको बार्षिक लक्ष्य अनुसार कर असुलीलाई तीब्रता दिएको बताएको छ ।