चितवन । पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड( साकोस) ले आफ्नो १० औं स्थापना दिवस मनाएको छ।
भरतपुरको नारायणगढमा एक कार्यक्रमको आयोजना गरी साकोसले नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान समेत गरेको छ ।
साकोसले भरतपुर वडा नम्बर १ बाट निर्वाचित भएका जनप्रतिनिधिहरु केशव महर्जन ,मनोज घिमिरे , राममाया पिया,रमा परियार लगायतलाइ सम्मान गरेको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जनले सहकारीले साना बचतकर्तालाइ घरैसम्म पुगेर सेवा प्रदान गर्ने भएकोले यसलाइ नाफामुलक भन्दा पनि सेवामुलकरुपमा हेरिने गरेको बताए । वडामानै महिलाले संचालन गरेको एक मात्र सहकारी भएकोले वडाको तर्फबाट पुल्चोक साकोसलाई सक्दो सहयोग हुने बताए । सहकारी र जनप्रतिनिधि दुबैको जनता समक्ष प्रत्यक्ष सरोकार रहने भएकोले धेरै काममा सहकार्य गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पुर्व मन्त्री साबित्री बोगटीले देशमै पहिलो सहकारी जन्मिएको जिल्लामा महिलाले मात्र संचालन गरेको सहकारीलाई सरकारले बेग्लै सुविधा उपलब्ध गराउनु पर्ने बताइन। उनले भनिन,‘ ठुला बैंकहरुको तुलनामा सहकारीले धेरै सुबिधा दिएका छन। बैंकका सेवाग्राही बैंकमै धाउनु पर्छ तर सहकारी सेवाग्राहीको घरमै पुग्छ।’
सहकारी रोजगार प्रबर्द्धन शाखा भरतपुरका प्रमुख रामबाबु पौडेल सहकारी मार्फतनै आर्थिक र सामाजिक परिवर्तन सम्भव भएको बताए । ठुला केही सहकारीलाई नियमन गर्न बनाएको नियमले सानालाई समस्या परेको उनको भनाइ थियो । ‘सहकारी स्थापना गर्नु ठुलो कुरा होइन पुल्चोक साकोस जस्तो १० औं स्थापना दिवस मनाउने हुनु सफलता हो।’ उनले भनिन । महिला मैत्री सहकारी भएकोले पुल्चोक साकोसले सहकारीको नेतृत्व गर्न सफल हुनु पर्नेमा पौडेलको जोड थियो।
साकोसकी संस्थापक सल्लाहकार मिना खरेलले १० बर्ष अघि महिलाले घर खर्चजोगाएर भेला गरेको पैसालाइ एकै थलोमा राख्ने उदेश्यले स्थापना गरेको साकोसले ठुलो फड्को मार्न सफल भएको बताइन। सरकारले सहकारीलाई दोहोरो तेहोरो करमा पारेकोले सेवामुखि काममा समस्या आएको उनको भनाइ थियो। उनले भनिन’ ‘नारा र भाषण भन्दा पनि सहकारीको नियमलाइ व्यबहारमा लागु गर्दा प्रतिफल आउन समय लाग्दैन। त्यसैले हामीले नियम भन्दा बाहिर नगई काम गर्नु पर्दछ।’
कार्यक्रममा साकोसकी संस्थापक अध्यक्ष उषा खरेले प्रत्येक बर्ष मनाइने स्थापना दिवसमा आफुलाइ गर्व लाग्ने गरेको बताइन् । बिगतमा आफु र अन्य सदस्यले गरेको दुखले संस्था यो अबस्थामा आउनु निकै चुनौती पुर्ण रहेको उनको भनाइ थियो।
साकोसकी अध्यक्ष आरती पन्तको सभापतित्वमा भएको कार्यक्रममा मेनका चापागाईंलेले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको सहजिकरण सचिब मिना श्रेष्ठले गरेकी हुन।
आज नै साकोसले गैंडाकोटमा रहेका अपाङ्ग समुहलाई भोजनको प्रबन्ध समेत गरेको छ ।