काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखिनेछ । वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको देखिनेछ । दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुनेछ । उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन हुनेछन् । विमानस्थल संकटकालीन योजनामा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायहरूको सहभागिता रहनेछ ।
दुर्घटनापछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित हुनेछ । दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध हुनेछ । यसबाट हवाई सेवा लिने सेवाग्राही प्रभावित हुनेछन् ।
तर, सुखद पक्ष यो दुर्घटनामा विमानमा क्षति पुग्ने छैन । जनधनको क्षति हुने छैन । हेर्दा मात्रै दुर्घटनाजस्तो देखिनेछ । त्यसैले यो समय हवाई सेवाका लागि गएका यात्रुका आफन्तहरू डराउनु पर्नेछैन ।
कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज पूर्ण संकटकालीन अवस्थाको अभ्यास गर्नेछ । त्यसैले दुर्घटना र उद्धारको दृश्य बनावटी मात्रै हुनेछ ।
“परिकल्पना गरिएको घटना अनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा काला धुवाँको मुस्लो देखिनेछ । घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिनेछ,” नेपाल नागरिक उड्ययन प्राधिकरणले भनेको छ, “यो अभ्यासको क्रममा स्थानीय समय अनुसार ३ देखि साढे ३ बजेसम्म विमानस्थलका नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन् ।”