काठमाडाैँ । भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई करोडौँ रुपैयाँ हेरफेर गरेको भन्दै त्यहाँको प्रवर्तन निर्देशनालय (ईडी)ले तीन दिनदेखि सोधपुछ गरिरहेको छ ।
नेसनल हेराल्ड प्रकरणमा कांग्रेस नेता गान्धीलाई ईडीका अधिकारीहरूले पैसा घोटलाको मामिलामा सोधपुछ गरेका हुन् । सोमबार उनीसँग १० घण्टा भन्दा बढी सोधपुछ गरिएको थियो । मंगलबार उनलाई ११ घण्टा प्रश्न गरिएको थियो भने बुधबार लञ्चभन्दा अगाडि ३ घण्टा बढी प्रश्न सोधेर २१ घण्टा बढी सवाल जवाफ गरिसकेको पीटीआईले जनाएको छ ।
सोधपुछको पहिलो दिन उच्च राजनीतिक नाटक र सडकमा विरोध प्रदर्शन भएको थियो । कांग्रेसका कार्यकर्ताले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र मोदी सरकारविरुद्ध नारा जुलुस गरेका छन् । सोमबार कांग्रेसका धेरै शीर्ष नेताहरू पक्राउ परेका थिए ।
छत्तीसगढका सीएम भूपेश बघेल र राजस्थानका सीएम अशोक गहलोतलगायत थुप्रै वरिष्ठ नेताहरूले पार्टीको सत्याग्रह मार्चमा भाग लिएका छन् । पूर्व केन्द्रीय मन्त्री पी चिदम्बरमले पार्टीको विरोधमा दिल्ली पुलिसले उनलाई धकेलेपछि उनको देब्रे करङमा भाँचिएको आरोप लगाएको दैनिक भाष्करले जनाएको छ ।