काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता जारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । विज्ञापन बोर्डले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् ।
आचारसंहिता लागू भएपछि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब लगायतमा विज्ञापन गर्न पनि बोर्डबाट अनुमति लिनुपर्ने भएको छ ।
मन्त्री कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्त्वपूर्ण भन्न नसकिने पनि बताए । सरोकारवाला पक्षहरूसँग छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । साथै उनले आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए मन्त्रालयले त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
‘म यो मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेको नेतृत्वको हैसियतले भन्न चाहन्छु– यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठयारा आउँछन्, जुन ठाउँमा अस्पष्टता आउँछन् र जसले अगाडि बढ्नका निमित्त व्यवधान खडा गर्छ । त्यसलाई तुरुन्त निराकरण गर्नका निमित्त यो मन्त्रालय तपाईंहरुको साथ रहनेछ भन्ने कुरा यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
साथै उनले यो आचारसंहिताले अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरूलाई हटाउन मद्दत गर्ने विश्वाससमेत व्यक्त गरे । ‘आज हामीले आचारसंहिता जारी गरेका छौं । यो ३८ पेजको यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरूलाई अन्त्य गर्दै यो क्षेत्रलाई लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ,‘ उनले भने ।
उनले अहिले समस्या नीतिमा नभई कार्यान्वयनमा भएको बताए । आज विश्वका जति पनि देशहरू सभ्य र सुन्दर छन्, ती देशहरूमा अनुशासन पहिलो प्राथमिकतामा भएको पाइएकाे उनले बताए । स्वतन्त्रता र अनुशासनलाई साथसाथ अगाडि बढाउन सके देशलाई चाँडै नै सभ्य, सुन्दर देशको रूपमा विकसित गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरूलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गरे । उनले त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रहसमेत गरे । उनले आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरूको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताए । उनले सरोकारवाला पक्षसँग पटकपटक छलफल गरी लागू गरिएको सो आचारसंहिताको कार्यान्वयन पनि सहज ढंगले हुने विश्वास व्यक्त गरे ।
‘विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने, विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवार बनाउने सो आचारसंहिताको महत्त्वपूर्ण पक्ष हो । सरोकारवालाहरूसँग पटकपटक छलफल गरी तयार गरिएकाले यसको कार्यान्वयन पनि सहज ढंगले हुने अपेक्षा गरिएको छ,’ अध्यक्ष हुमागाईंले भने ।
कार्यक्रममा बोल्दै न्यू बिजनेश एज प्रा. ली. का अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधान सम्पादक मदन लम्सालले कति मिडिया हुनुपर्ने हो र पत्रकार र पार्टिका कार्यकर्ता कसरी छुट्याउने हो ? भन्दै प्रश्न गरेका थिए ।