सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरको शेयर मूल्यमा उच्च कमी आएको छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले ४४ अर्ब डलरमा कम्पनी किन्ने प्रस्ताव रद्द गर्ने प्रयास गरिरहेको भन्ने अभिव्यक्ति दिएपछि सोमबार नियमित समयअघिको कारोबारमा ट्विटरको शेयर मूल्य प्रतिकित्ता ९ प्रतिशतसम्म घटेको थियो । पछि त्यसकाे शेयर मूल्य सुधार हुँदै ७ प्रतिशतमा पुग्याे ।
उता, एलन मस्कको कम्पनी अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको शेयर मूल्य भने नियमित समयअघिको कारोबारमा १ प्रतिशतले बढेको थियो । शुक्रबार मस्कका वकिलले ट्विटरको सञ्चालक समितिलाई उनले कम्पनी खरिदसम्बन्धी सम्झौता रद्द गर्न खोजेको बताएका थिए । मस्कले बोट्स र नक्कली खातालगायत कुरामा अड्को थापेर सम्झौता रद्द गर्न खोजिरहेका छन् । कम्पनीले स्पाम खाता लगायत विषयमा साँचो कुरा नबताएको उनको तर्क छ ।
ट्विटरले भने आफूले मस्कलाई चाहिने जति सबै सूचना/जानकारीहरू दिएको र स्पाम खाता ट्विटरका दैनिक सक्रिय प्रयोगककर्ताको ५ प्रतिशत हाराहारीमा रहेको बताएको छ । सम्झौता पूरा गराउन कम्पनीले डेलावेयर कोर्ट अफ चान्सरीमा मस्कमाथि मुद्दा हाल्ने भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष ब्रेट टेलरले यस्तो बताएका हुन् । कम्पनीले आफूलाई जर्बजस्ती सम्झौता पूरा गराउने संकेत गरेपछि मस्कले सोमबार ट्विट गर्दै ट्विटरलाई गिज्याएका थिए ।
‘उनीहरूले आफूले किन्न सक्दैन भने । त्यसपछि बोटसम्बन्धी जानकारी खुलाएनन् । अहिले अदालतमार्फत मलाई ट्विटर किन्न बाध्य बनाउने खोजिरहेका छन् । अब उनीहरूले अदालतमा बोटसम्बन्धी जानकारी सार्वजनिक गर्नु पर्नेछ ।’ उनले ट्विटमा भनेका छन् ।
मस्क ट्विटरका सर्वाधिक लोकप्रिय प्रयोगकर्तामा पर्दछन् । १० करोडभन्दा धेरै फलोअर भएका मस्कले कर्पोरेट सञ्चारदेखि अरुलाई घोचपेच गर्नसम्म हरेक कामका लागि ट्विटरको प्रयोग गर्छन् ।
मस्कले कम्पनी किन्ने खबर सार्वजनिक भएपछि शुरुआती दिनमा आकाशिएको ट्विटरको शेयर मूल्यमा सम्झौतामा उत्पन्न अनिश्चय र मस्कको अभिव्यक्ति अनुरूप तीव्र उतारचढाव देखिएको छ । मस्कले ट्विटरको प्रतिकित्ता शेयर ५४ डलर २० सेन्टमा किन्ने प्रस्ताव गरेका थिए । मस्कले ट्विटरका लागि धेरै मूल्य तिर्न लागेको त्यति बेला केही विश्लेषकले बताएका थिए ।
शुक्रवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३६ डलर ८१ सेन्टमा आएर बन्द भएको थियो । सम्झौता रद्द भएमा मस्कले सम्झौता रद्द शुल्कबापत कम्पनीलाई १ अर्ब डलर तिर्नु पर्नेछ । तर, यो प्रस्ताव आएयता सम्झौता रद्द गर्ने घोषणाका कारण कम्पनीले गुमाएको बजार पूँजीकरणको दाँजोमा निकै थोरै रकम हुनेछ । एजेन्सी