चितवन । जनैपुर्णिमा तथा रक्षा बन्धनको अवसरमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रक्षाबन्धन तथा शुभकामना आदानप्रदान गरिएको छ । नेपालीहरूको चाड जनै पूर्णिमा,रक्षा बन्धन, गाईजात्राको अवसर पारेर शिक्षालयमा यो कार्यक्रमको आयोजना गरिएको हो ।
शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा यस शिक्षालयको परिसरभित्र रहेको दुर्गा मन्दिरमा राखी बाध्ने कार्यक्रम गरिएको थियो ।
सो अवसरमा डिआईजीपी भण्डारी मानव जिवनमा सकारात्मक सोचको विकास गर्न तथा तनावलाई प्रभावकारी रूपमा व्यवस्था गर्न यो कार्यक्रम गरिएको बताउनु भयो । जीवनलाई सफल बनाउनका लागि आफूलाई सदैव सत्कर्मतर्फ प्रेरित रहिरहन निर्देशन दिंँदै उहांँले सहभागी सबैलाई जनै पूर्णिमा, रक्षा बन्धन तथा गाईजात्राको शुभकामना दिनुभयो ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नारायणघाट र बसेनी, भरतपुरसँगको समन्वयमा शिक्षालयमा कार्यरत प्रहरी कर्मचारी र प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई रक्षा बन्धन तथा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले र ब्रह्माकुमारी रीताले प्रवचन तथा शुभकामना सन्देश दिनुभएको थियो । कार्यक्रममा १हजार एकसय जना प्रहरीको उपस्थिति रहेको थियो ।