चितवन, २७ साउन । पत्रकार दीपक आचार्य चितवन २ (ख) बाट प्रदेश सांसदको निर्वाचनमा उम्मेद्वारी दिने बताउनु भएको छ । नेपाली कांग्रेस पार्टीबाट उहाँ उम्मेदवार बन्न लाग्नु भएको हो ।
तीन दशकदेखि पत्रकारमार्फत् राजनीति गर्दै आउनु भएका आचार्य पार्टी राजनीतिमा पनि उत्तिकै सक्रिय रहंँदै आउनु भएको छ ।
आचार्य कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य, मध्यमाञ्चल संयोजक, केन्द्रीय बरिष्ठ उपाध्यक्ष भएर भूमिका निर्वाह गरिसक्नु भएको छ । युनियनको लामो समयसम्म महाधिवेशन हुन नसक्दा सिर्जना भएको अन्यौलको स्थितिलाई चिर्दै तत्काल महाधिवेशन गराउन आचार्यकै नेतृत्वमा दवाब समूह बनाएर चौतर्फी दवाव सिर्जना गरेपछि महाधिवेशन सम्पन्न भएको थियो । आचार्यकै नेतृत्वमा उक्त दवाब समूह निर्माण गरी दवाबमूलक भेला आयोजना गर्न कांग्रेस नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले आचार्यलाई सुझाउनु भएको थियो ।
आचार्य नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकट मानिनुहुन्छ । हेटौंडामा सम्पन्न नेपाल प्रेस युनियन नवौं महाधिवेशनमा अध्यक्षको दाबी गर्दै आउनु भएका आचार्यलाई निकट शीर्ष नेताहरुले भूगोलको निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएपछि उहाँ पार्टी राजनीतिमा सक्रिय रहेको बताईन्छ ।
उहाँ नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको दुई पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य समेत रही सक्नु भएको छ । उहाँले बि.सं. २०७६ सालमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिमा रही काम गरिसक्नु भएको छ ।
आचार्य गत स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट घोषणापत्र तयारी समिति सदस्य रहनु भएको थियो भने विभिन्न निर्वाचनमा नेतृत्वदायी भूमिका खेल्नु भएको छ । आचार्य हाल नेपाली कांग्रेस चितवनको सल्लाहकार हुनुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय एक नेताले भन्नुभयो “युनियनको केन्द्रीय अध्यक्षबाट पछाडि हट्दै गर्दा उहाँ निकट शीर्ष नेताहरुले राजनीतिक स्थान दिने प्रतिबद्धता गर्नुभएको थियो ।” उक्त आश्वासनपछि जिल्ला फर्किनु भएका आचार्य राजनीतिक परामर्शमा जुट्नु भएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आचार्यको दाबीलाई स्वभाविक भएको बताउनु भयो । उहाँले भन्नुभयो “दीपक आचार्य जस्ता विद्वान र प्रखर वक्ताले भूगोलको राजनीतिमा सक्रिय रहनु पार्टीका लागि हितकर रहन्छ ।” पार्टीको जिल्ला तहका पूर्व सभापति तथा नेताहरुको पनि आचार्यलाई साथ र सहयोग रहेको पाईएको छ ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय आचार्य चितवन क्षेत्र नं. २ (ख)का बासिन्दा हुनुहुन्छ । उहाँ समग्र चितवन सहित उक्त क्षेत्रको भौगोलिक बनावट, राजनीतिक अवस्था, कूल ग्राहस्थ उत्पादन, जनसंख्या, रोजगारीको अवस्था, स्वास्थ्य, शिक्षा लगायत समग्र अवस्थाबारे विज्ञ हुनुहुन्छ । उहाँले यहाँको पत्रकारिता मार्फत् जनताका समस्याबारेमा लामो समयदेखि उजागर गर्दै आउनु भएको छ । पार्टीभित्र सबैका साझा व्यक्तिका रुपमा परिचित आचार्य अन्य राजनीतिक दलका नेतासँग पनि राम्रो सम्बन्ध राख्नुहुन्छ । उहाँ संसदीय राजनीतिमा प्रवेश गरेसँगै यहाँका स्थानीय उत्साहित भएका छन् ।