चितवन –
नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त पर्यटन विकास गर्ने उद्देश्यले आयोजित ‘नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६’ सम्पन्न भएको छ। कार्यक्रमले दुई देशबीचको पर्यटन सहकार्यलाई संस्थागत र दीर्घकालीन बनाउन नेपाल–भारत पर्यटन परिषद् (Nepal–Bharat Tourism Council–NBTC) स्थापना गर्ने घोषणा गरेको छ।
गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा अक्टोबर २५ देखि २७ सम्म ‘Connecting Borders, Building Friendships, Growing Tourism’ नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने तथा दुवै देशका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
रुपन्देहीस्थित बेलहिया–सुनौली सीमा नाकामा भारतीय प्रतिनिधिमण्डलको स्वागत तथा औपचारिक समारोहसँगै कार्यक्रम उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा. के.पी. सिंह तथा NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेर्चनलगायतको उपस्थिति थियो।

कार्यक्रमका क्रममा भारतीय पर्यटन व्यवसायी तथा प्रतिनिधिमण्डलले रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली, चितवन तथा नवलपुरका विभिन्न पर्यटकीय गन्तव्य, होटल र रिसोर्टको अवलोकन गरेका थिए। भ्रमणका क्रममा रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्त्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जंगल सफारी तथा मेघौली र नवलपुरका प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे जानकारी गराइएको थियो।
यसैगरी नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर अपरेटरबीच बीटुबी (B2B) भेटघाट, पर्यटन नेटवर्किङ तथा व्यावसायिक अन्तरक्रिया गरिएको थियो। नेपालका पर्यटकीय गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, अनुभव आदानप्रदान गर्ने तथा नियमित व्यावसायिक सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ।
भारतबाट Greenways Travels, SMH Holidays, Suvidhaa Travels, Easytime to Travel, Go Travel Guru, STA Travels, Shubhi Travels, Oneiro Vacations, Namaskar Travel Services, Mansa Travels, Sachan Tours & Travels Pvt. Ltd., ALCC Holidays LLP, Luxtripper Holidays Pvt. Ltd., Utsav Travels, Flystep Holidays Pvt. Ltd., Elorstar Trip, Holiday Adda, Travel Puff, Saga Luxury र Apex Alpha Connector लगायतका ट्राभल तथा टुर कम्पनीका प्रतिनिधिहरू सहभागी भएका थिए।
चितवनस्थित लाटौली रिसोर्टमा समापन समारोह आयोजना गरिएको थियो। बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति प्रमुख अतिथि रहेको समारोहको अध्यक्षता NRNA ICC का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम नाथ सापकोटाले गरेका थिए।
कार्यक्रम संयोजक लक्ष्मण थापाले कार्यक्रमका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएका थिए भने लाटौली रिसोर्टका महाप्रबन्धक बिमल पौडेलले रिसोर्टको परिचय दिएका थिए। समृद्ध चितवन अभियानका संयोजक तारानाथ पौडेल र NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेर्चनले स्वागत मन्तव्य राखेका थिए। भारतीय प्रतिनिधिमण्डलका तर्फबाट ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका प्रतिनिधि राजेश सिन्हाले भ्रमण अनुभव साझा गरेका थिए।
समापन समारोहमा PATA नेपाल च्याप्टरका नरेन्द्र भट्ट, पर्यटन विज्ञ पी.के. शेर्पा, काठमाडौं जिल्ला होटल व्यवसायी संघका सुरेश बराललगायतले पर्यटन सहकार्य र संयुक्त प्रचारप्रसारका विषयमा धारणा राखेका थिए। प्रमुख अतिथि मन्त्री प्रजापतिले यस्ता कार्यक्रमले पर्यटन क्षेत्रका सरोकारवालाबीच सम्बन्ध विस्तार र व्यावसायिक साझेदारीका नयाँ अवसर सिर्जना गर्ने बताए। समारोहमा सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो भने भारतीय प्रतिनिधिमण्डलले पनि मायाको चिनो प्रदान गरेको थियो।
कार्यक्रममा NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेर्चन, उपाध्यक्ष प्रवीण गुरुङ, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह, PATA नेपाल च्याप्टरका नरेन्द्र भट्ट, पर्यटन विज्ञ पी.के. शेर्पा, सुरेश बराल, बिमल पौडेल, लक्ष्मण थापा, तारानाथ पौडेल तथा भारतीय कन्टेन्ट क्रिएटर एवं टोली संयोजक ऋषि अरोरालगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल (HAN), PATA नेपाल च्याप्टर, हस्पिटालिटी सेल्स एन्ड मार्केटिङ एसोसिएसन नेपाल, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटी, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डिया, नवलपुर पर्यटन समिति कावासोती, ग्रेस इन्टरनेसनल, फादर एन्ड सन ट्रेक एन्ड एक्सपेडिसन, ग्लोबल कन्सर्न सेन्टर फर क्लाइमेट चेन्ज तथा पर्यटन सूचना नेपाललगायत संस्थाले सहयोग गरेका थिए।

त्यस्तै, लाटौली सेन्चुरी रिसोर्ट, थारु गाउँ रिसोर्ट, ILA कम्फर्ट, ILA होटल्स एन्ड रिसोर्ट्स मौलाकालिका, ल्यान्डमार्क फरेस्ट–पार्क, बनबास रिसोर्ट, सिद्धार्थ वाइल्डलाइफ रिसोर्ट, सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन, मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट, उन्नति कल्चरल भिलेज (UCV), मचान वाइल्डलाइफ रिसोर्ट, रोयल ट्युलिप चितवन नेपाल, टाइगर प्यालेस रिसोर्ट तथा थारु कम्युनिटी लजलगायतले आतिथ्य तथा गन्तव्य अवलोकनमा सहयोग गरेका थिए।
कार्यक्रम सम्पन्न भएपछि अक्टोबर २८ मा नवलपुरस्थित बगैंचा रेस्टुरेन्टमा पर्यटन व्यवसायीबीच अन्तरक्रिया तथा खाजा कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि भारतीय प्रतिनिधिमण्डलले भैरहवास्थित टाइगर प्यालेस रिसोर्टको अवलोकन तथा बीटुबी भेटघाट गरेपछि औपचारिक रूपमा बिदाइ गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रम निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरूको सहयोगमा सञ्चालन गरिएको हो। यसका लागि कुनै सरकारी आर्थिक सहायता लिइएको थिएन।
कार्यक्रमका संयोजक तथा NRNA ICC का प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम नाथ सापकोटाले नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना रहेको बताए। उनले भने, “यस्ता कार्यक्रमले पर्यटन व्यवसायीबीच विश्वास, सहकार्य र व्यावसायिक साझेदारी विस्तार गर्न सहयोग पुर्याउँछन्। अब यस पहललाई निरन्तरता दिँदै नेपालका पर्यटकीय गन्तव्यलाई भारतीय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न आवश्यक छ।”
कार्यक्रमकै क्रममा घोषणा गरिएको नेपाल–भारत पर्यटन परिषद् (NBTC) मा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य क्षेत्रका विशेषज्ञ र अन्य सरोकारवालालाई समेटिने प्रस्ताव गरिएको छ। संयुक्त गन्तव्य प्रचारप्रसार, बीटुबी भेटघाट, संयुक्त पर्यटन प्याकेज निर्माण, अनुभव आदानप्रदान तथा नियमित नेटवर्किङ कार्यक्रम सञ्चालन परिषद्का प्रमुख उद्देश्य रहनेछन्।

‘Connecting Destinations. Creating Partnerships. Growing Tourism.’ भन्ने मूल नारासहित अघि बढाइने परिषद्को औपचारिक संरचना, सदस्यता र सञ्चालन प्रक्रिया सम्बन्धित सरोकारवालासँगको छलफल तथा सहमतिका आधारमा तय गरिने आयोजकले जनाएको छ। यसले नेपाल र भारतका पर्यटन व्यवसायीबीच स्थापित सम्बन्धलाई व्यवस्थित गर्दै दीर्घकालीन सहकार्यमा रूपान्तरण गर्ने विश्वास आयोजकले लिएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने बागमती प्रदेशका मन्त्री राजेन्द्र प्रजापति, उद्घाटन समारोहकी प्रमुख अतिथि शारदा बस्याल बेलबासे, NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेर्चन, उपाध्यक्ष प्रवीण गुरुङ, पूर्व ICC सदस्य राम बेलबासे, पूर्व ICC सल्लाहकार ओम गुरुङ, NRNA एसिया प्यासिफिक क्षेत्रीय संयोजक भानिन्द्र बस्नेत, तारानाथ पौडेल, कार्यक्रम संयोजक लक्ष्मण थापा, ऋषि अरोरालगायत नेपाल तथा भारतका सम्पूर्ण पर्यटन व्यवसायी र प्रतिनिधिहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
साथै नेपाल पर्यटन बोर्ड, HAN, PATA नेपाल च्याप्टर, सहभागी स्थानीय तह, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य साझेदार, सहयोगी संस्था, स्वयंसेवक तथा नेपाल र भारतका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई विशेष धन्यवाद दिइएको छ। आगामी दिनमा नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक साझेदारी र जनस्तरको मित्रतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि आयोजकले व्यक्त गरेका छन्।












