जीवन कति सुन्दर छ भन्ने कुरा हामीसँग कति छ भन्ने कुराले होइन, आफूसँग भएको कुरामा हामी कति रमाउन सक्छौँ भन्ने कुराले निर्धारण गर्छ । यो संसारमा दुख, पिर, चिन्ता र समस्या नहुने मान्छे सायदै होलान कसैका समस्या आँखाले देखिन्छन, कसैका पीडा मुस्कानभित्र लुकेका हुन्छन्न फरक यति हो, कसैले आफ्नो दुःखलाई अभिव्यक्त गर्छन भने कसैले त्यसलाई मनभित्रै थन्क्याएर पनि मुस्कुराइरहेका हुन्छन । हामीले प्रायः मानिसको सफलता उसको सम्पत्तिबाट मापन गर्ने गर्छौँ । कति पैसा कमायो, कतिवटा घर छन, कति जग्गाका लालपुर्जा छन कस्तो गाडी चढ्छ र बैंकमा कति बचत छ भन्ने कुराले उसको जीवनस्तर निर्धारण गर्छौँ । तर के साँच्चै यिनै कुराले मानिसको जीवन सुन्दर बनाउँछन ? के धेरै सम्पत्ति हुने मानिस नै सबैभन्दा खुसी हुन्छ ? के ठूलो घरभित्र बस्ने मानिसको मन पनि सधैँ शान्त हुन्छ ?
अवश्य पनि होइन । मैले धनसम्पत्तिले भरिपूर्ण भएर पनि मनमा चैन नभएका मानिस देखेको छु । प्रशस्त सम्पत्ति भएर पनि जीवनप्रति असन्तुष्ट रहेका मानिस भेटेको छु । दिनभर करोडौंको कारोबार गर्नेहरूलाई आफ्नै व्यस्ततादेखि दिक्क भएको देखेको छु । अर्कोतर्फ, सिमित आम्दानीमा परिवारको आवश्यकता पूरा गर्दै सामान्य जीवन बिताएर पनि सानो कुरामा खुसी हुने मानिसहरू पनि देखेको छु । महिनौँको मेहनतपछि हात परेको थोरै कमाइमा परिवारसँग हाँस्न सक्ने मानिसको खुसी कुनै महँगो गाडी वा आलिशान घरभन्दा कम मूल्यवान् हुँदैन ।
यसको अर्थ पैसा तथा सम्पत्ति आवश्यक छैनन् भन्ने होइन । जीवन सहज बनाउन आर्थिक सबलता महत्वपूर्ण छ । तर सम्पत्ति कमाउने यात्रामा आफ्नो मनको शान्ति, परिवारको साथ, स्वास्थ्य र खुसी नै गुमाउन थाल्यौँ भने त्यो सफलताको अर्थ के रहन्छ ? जीवनभर अरूभन्दा अगाडि पुग्ने दौडमा लागिरहँदा आफूले बाँच्नुपर्ने जीवन नै छुट्यो भने त्यो उपलब्धिले कति सन्तुष्टि देला ? जीवनको खुसी केवल आर्थिक सम्पन्नतामा मात्र निर्भर हुँदैन, यो कुरा सम्बन्धमा पनि उत्तिकै लागू हुन्छ । टन्न धनसम्पत्ति र राम्रो देशको सपना देखेर आफै रोजेर विवाह गर्नेहरू पनि प्रेम, विश्वास र आत्मीयताको अभावमा दुःखी भएको, कतिपयको सम्बन्धसमेत टुटेको देखेको छु । अर्कोतर्फ आर्थिक रूपमा सामान्य तर इमानदार र जिम्मेवार जीवनसाथी रोजेर अभावसँगै संघर्ष गर्दै पनि हाँसीखुसी जीवन बिताउनेहरू पनि देखेको छु । यसले के बुझाउछ भने सम्बन्धलाई टिकाउने कुरा पनि सम्पत्तिको मात्रा होइन, मनमा रहेको माया, व्यवहारमा देखिने इमानदारी र अप्ठ्यारो समयमा निभाइने साथ हो ।
हामीमध्ये धेरैजसो अरूसँग आफ्नो जीवन तुलना गरेर दुःखी हुने गर्छौँ । कसैले नयाँ घर बनायो, कसैले नयाँ गाडी किन्यो, कसैले विदेश घुमेको तस्बिर राख्यो, कसैले राम्रो जागिर पायो । यी सबै देखेर हामी आफ्नै जीवनलाई कमजोर ठान्न थाल्छौँ । आफूले पाएका उपलब्धि बिर्सिएर अरूले हासिल गरेका कुराको हिसाब गर्न थाल्छौँ । अरूको खुसी देखेर आफ्नो जीवनमा के कमी छ भन्ने खोज्न थाल्छौँ ।तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, सामाजिक सञ्जालमा देखिने अरूको सुन्दर जीवन उनीहरूको सम्पूर्ण जीवन होइन । त्यहाँ देखिने मुस्कानभित्र कति चिन्ता लुकेको छ, सफलताभित्र कति संघर्ष छ र चम्किलो तस्बिर पछाडि कति अप्ठ्यारा दिनहरू छन भन्ने कुरा हामीलाई थाहा हुँदैन । त्यसैले अरूको जीवनको बाहिरी चमकसँग आफ्नो जीवनको भित्री संघर्ष तुलना गरेर आफूलाई दुःखी बनाउन छोडौं ।
कसले के भन्यो, कसले कुरा काट्यो, कसले कस्तो लगायो, कसले कस्तो खायो र कसले कति कमायो भन्ने कुराको हिसाब राख्न छोडिदिनुहोस सबैलाई खुसी पार्न सकिँदैन र सबैको सोचअनुसार जीवन पनि चलाउन सकिँदैन । अरूको नजरमा राम्रो देखिने प्रयासमा आफ्नो मनलाई असन्तुष्ट बनाउनुको कुनै अर्थ छैन । जीवन तपाईंको हो, त्यसैले यसको खुसीको मापदण्ड पनि तपाईं आफैँले तय गर्नुपर्छ । कहिलेकाहीँ दिनभरको थकानपछि साँझ घर फर्कँदा परिवारको एउटा आत्मीय मुस्कानले सबै तनाव बिर्साइदिन्छ । आमाको मायालु बोली, बुबाको आशीर्वाद, छोराछोरीको हाँसो, जीवनसाथीको साथ वा आफ्ना प्रिय मानिससँग बिताएको केही समयले मनलाई यस्तो सन्तुष्टि दिन्छ, जुन पैसाले किन्न सकिँदैन । दिनभर मेहनत गरेर साँझ आफ्नो मन शान्त राख्दै आनन्दले निदाउन सक्नु पनि जीवनको ठूलो उपलब्धि हो ।
खुसी हुन सधैँ कुनै ठूलो अवसर नै चाहिँदैन । बिहानको स्वच्छ हावा, मनपर्ने गीत, एक कप चिया, पुरानो साथीसँगको कुराकानी, परिवारसँगको खाना, कसैको अनुहारमा ल्याउन सकेको मुस्कान र आफूले गरेको सानो कामप्रतिको सन्तुष्टि पनि खुसीका सुन्दर कारण बन्न सक्छन हामी खुसीलाई ठूला उपलब्धिसँग जोडेर खोजिरहेका हुन्छौँ, जबकि जीवनका धेरै सुन्दर खुसीहरू हाम्रै वरिपरि सामान्य रूपमा उपस्थित हुन्छन । अर्को महत्त्वपूर्ण कुरा, खुसी हुनु भनेको जीवनमा दुःख नहुनु होइन । खुसी मानिसको जीवनमा पनि समस्या आउँछन, असफलता मिल्छन र निराशाका दिनहरू आउँछन तर उनीहरू हरेक कठिनाइलाई आफ्नो जीवनको अन्तिम सत्य मान्दैनन, समस्या छ भन्दैमा सम्भावना सकिएको ठान्दैनन, आजको कठिनाइ भोलिको सहजताको सुरुवात पनि हुन सक्छ भन्ने आशा बोकेर अघि बढ्छन । खुसी हुनु भनेको हरेक परिस्थिति राम्रो छ भन्नु होइन, परिस्थिति जस्तो भए पनि त्यससँग जुध्ने आशा र हिम्मत जोगाइराख्नु हो ।
त्यसैले आफ्नो जीवनलाई अरूको मापदण्डबाट होइन, आफ्नै सन्तुष्टिको आधारमा मूल्याङ्कन गर्न सिकौँ । कमाइ बढाउने प्रयास गरौँ, भविष्य सुरक्षित बनाऔँ, सपना पूरा गर्न मेहनत गरौँ तर यी सबैका बीच आफूलाई बाँच्न पनि नबिर्सौ परिवारका लागि समय निकालौँ, आफ्ना प्रियजनसँग खुलेर हाँसौँ, आफूलाई मन पर्ने काम गरौँ र साना उपलब्धिहरूको पनि उत्सव मनाउन सिकौँ । सम्पत्ति कमाउनु ठूलो कुरा हो, तर कमाएको सम्पत्ति सँगै मनको शान्ति जोगाउनु त्योभन्दा ठूलो कुरा हो । ठूलो घर हुनु राम्रो हो, तर त्यही घरभित्र आत्मीयता र हाँसो हुनु अझ सुन्दर कुरा हो । सफल हुनु महत्त्वपूर्ण छ, तर सफलताको यात्रामा आफूलाई नै हराउनु हुँदैन ।
अन्ततः जीवनको सुन्दरता हामीसँग कति छ भन्नेमा मात्र हुँदैन, हामीसँग भएको कुरामा कति सन्तुष्ट छौँ भन्नेमा पनि हुन्छ । तपाईंको अनुहारमा मुस्कान छ, मनमा सन्तोष छ र व्यवहारमा आत्मीयता छ भने तपाईंको खुसीले तपाईंलाई मात्र होइन, तपाईंको परिवार, आफन्त र वरपरका मानिसलाई पनि सकारात्मक ऊर्जा तथा खुशी हुने प्रेरणा दिन सक्छ । त्यसैले खुसी हुनका लागि सबै कुरा आफूले चाहे जस्तो हुनुपर्छ भन्ने सोच त्यागौँ । जीवनमा जे छैन त्यसको चिन्तामा मात्र नअल्झिऔँ, जे छ त्यसको महत्व बुझौँ । किनकि जीवन कति लामो बाँच्यौँ भन्नेभन्दा पनि कति आनन्दले बाँच्यौँ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । सम्पत्ति जीवनको एउटा उपलब्धि हुन सक्छ, तर मनको शान्ति, सम्बन्धको आत्मीयता र मुहारको मुस्कान नै जीवनको वास्तविक समृद्धि हो ।
खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ
खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु












