चितवन । खैरहनीमा माघ ४ देखि खैरहनी महोत्सव हुने भएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लदरी खोला किनारमा ‘बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव २०७९’ हुने भएको हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्यसहित महोत्सव गर्न लागिएको आज खैरहनीमा आयोजित आयोजक संस्था उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र उवासंघ खैरहनीले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै खैरहनी उवासंघका अध्यक्ष दिपेन श्रेष्ठले कोरोनाले थलिएको व्यवसायलाई उकास्न र स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न महोत्सव गर्न लागिएको बताउनु भयो । ‘हामीले प्रथम खैरहनी महोत्सव पछि कोरोनाले थलियौं अहिले आर्थिक मन्दीले थलिएका छौं श्रेष्ठले भन्नुभयो , यो महोत्सवले व्यवसायीलाई केही राहत महसुस हुने अपेक्षा गरेका छौं ।’
महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका गरि ३५० वटा स्टल रहने उहांँले जानकारी दिनुभयो । करिब एक करोड २० लाखको खर्च अनुमान गरिएको महोत्सवमा करीब ७० करोड कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सव अवधिभर करिव ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवको मूख्य आर्कषणको रुपमा भने कृषिजन्य उत्पादन रहने श्रेष्ठले बताउनु भयो । ‘हामीले १३ वटा जिल्लाका उत्पादनहरु खैरहनी महोत्सवमा पाउँछौ,’ उहांँले भन्नुभयो, ‘सिन्धुलीको जुनार, सिन्धुपाल्चोकको किवी उत्पादनको पनि प्रर्दशन गर्नेछौं ।’ दुग्धविकास संस्थानले उत्पादन गरेका मिठाईहरु पनि स्टलमा प्रमुख आर्कषणको रुपमा रहनेछ ।
महोत्सवमा युवाहरुको लागि सेल्फी जोन, अम्ब्रेला स्ट्रिटदेखि बालबालिकालाई मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ । महोत्सवमा उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिष्पर्धाको विकास गर्ने, उद्योगीहरुबीच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने, कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने र देशमै रोजगारीको अवसर र सम्भावनाको विषयका बारेका सेसन हुनेछन । स्टलको शुल्क भने न्यूनतम ९ देखि ३० हजार सम्म रहेको छ । खैरहनी उद्योग वाणिज्य संघको सदस्यलाई स्टल शुल्कमा १० प्रतिशत र अन्य उद्योग वाणिज्य संघमा आवद्ध सदस्यलाई भने पाँच प्रतिशत छुट दिईने श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ । विद्यार्थीको हकमा ३० रुपैयाँ र जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश गर्न दिइने छ ।