चितवन । चितवन उद्योग संघमा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि छलफल भएको छ । संघको आयोजनामा उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीतिनिर्माण समन्वय तथा औद्योगिक पाठशाला सञ्चालन विभागका संयोजकयुग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवनप्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा उपप्रधानमन्त्री समक्ष जानकारी गराएका थिए । वस्तीले औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानका लागि सुझावहरु सहित प्रस्तुतिकरण समेत गरेका थिए । ।
उपप्रधानमन्त्री रवि लामिछानेले संघले अघि सारेका परियोजनाहरु निकै महत्वपूर्ण रहेको र आफूले उद्योगीहरुको समस्यालाई समाधानगर्ने मुख्य लक्ष्य लिएको बताए । कालिका नगरपालिकामा डिपिआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासोका साथ हेर्दै आईरहेको यसलाई बिशेष प्राथमिकतामा राखेको बताए ।
लामिछानेले संघले अघि सारेको औद्योगिक पाठशालाले औद्योगिक प्रबद्र्धनमा ठूलो टेवा भएकाले परियोजनालाई विशेष महत्वका साथ विस्तृत अध्ययन गरी अगाडि बढाउने प्रक्रियामा सकारात्मक रहेको समेत बताए ।
कार्यक्रममा संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा तयार पारेको सञ्चालन प्रस्तावपत्र, चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले कंक्रिट मिक्स्चर मेशिन उत्पादक उद्योगीहरुले झेल्नु परेका विविध समस्याहरुको समाविष्ट गरी तयार पारिएको सुझावपत्र गृहमन्त्री रवि लामिछानेलाई पेश गर्नुभएको थियो ।
छलफल कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, भीमबहादुर पाण्डे, भेषराज दुवाडी, कृष्ण प्रसाद अधिकारी लगायतका उद्योगीहरुको सहभागिता रहेको थियो ।