खैरहनी । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सवमा चितवनका दुई जना पत्रकार सम्मानित भएका छन् । पत्रकारद्वय सन्तकुमार चौधरी र तुलमान गुरूङलाई खिचरा महोत्सवको समापन समारोहमा नगदसहित सम्मान गरिएको हो ।
कृषि, पर्यापर्यटन, व्यापार व्यवसायको प्रवर्द्धन विधि, कला–संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्न तथा समृद्ध खैरहनी नगरको परिकल्पनालाई साकार पार्नमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नगद दस हजार रूपैयाँसहित सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
सम्मानित दुवैजना पत्रकारलाई खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाँले थारु समुदायको पहिरन मुणेठा ९फेटा० लगाउनुका साथै सम्मानपत्र प्रदान गरेका हुन् । थारु जातिसँगै समग्र आदिवासी जनजाति समुदायको क्षेत्रबाट पत्रकारिताको माध्यममार्फत आफ्नो क्षमता प्रदर्शन गरेको हुँदा सोहीबापत सम्मान गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । सम्मानित चौधरी नेपाल नेटवर्क टेलिभिजनका लागि चितवन संवाददाता हुन् भने गुरूङ चितवन पोष्ट दैनिकका संवाददाता हुन् ।
महोत्सव सम्पन्न गराउनका लागि पनि विशेष भूमिका रहेको थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति चूडामणि चौधरीले बताए । महोत्सव मूल आयोजक समितिले हरेक वर्ष पत्रकारलाई सम्मान गर्दै आएको उनले बताए । ‘यसलाई हामी निरन्तरता दिँदै जानेछौँ’, उनले भने ।
महोत्सवको समापन गर्दै खैरहनीका नगरप्रमुख खनियाँले थारु समुदायले आयोजना गर्दै आएको खिचरा महोत्सव खैरहनीकै ‘ब्रान्ड’को रुपमा स्थापित भएको बताए । ‘खैरहनीका लागि खिचरा र खिचराका लागि खैरहनी एकापसमा पर्यायवाची शब्दजस्तै बनिसकेको छ’, उनले भने, ‘यसले समग्र नेपाली मौलिक संस्कृतिको विकासमा योगदान पु¥याएको छ ।’ खिचरा महोत्सवकै कारण चितवन खैरहनीको परिचय पनि फराकिलो बनेको उनले बताए ।
गत पुस २८ गतेबाट सुरू भएको महोत्सव बुधबार सम्पन्न भएको हो । कृषि प्रदर्शनीसहित १५० स्टल रहेको महोत्सवमा थारु खानाका परिकारहरुलाई समेत प्राथमिकताका साथ प्रदर्शनमा राखिएको थियो । २५ जिल्लामा बसोवास गर्ने थारु समुदायमा प्रचलित भेषभूषालाई समेत महोत्सवमार्फत प्रवद्र्धन गराउन सफल भएको आयोजक संस्थाका सभापति चौधरीले जानकारी दिए । चितवनका थारु समुदायले खिचरा पर्वको अवसर पारेर हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ ।
महोत्सव अवधिभरमा विभिन्न खेलकुदका साथै खिचरा डान्स आइडल प्रतियोगिता भएको थियो । खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भएको महोत्सवका समाचार सम्प्रेषण समितिका संयोजक दिपेश चौधरीले जानकारी दिए ।