काठमाडौं ।जापानमा व्यवसायी क्षेत्रमा सफलता प्राप्त गरेका सुदन थापा ‘युथ लिडरसिप अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन ।
व्यवसायी थापालाई एनआरएनए युवा नेतृत्व तथा रोजगारीको क्षेत्रमा अतुलनीय योगदान र्पुयाएबापत एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको युथ लिडरसिप अचिभमेन्ट अवार्र्ड प्रदान गरिएको हो । जापान रिक्रुमेन्टका सञ्चालक थापालाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरेका हुन ।
आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित थापाले जापानमा रोजगारी, पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव छ ।
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनए आईसीसी वर्तमान कार्यसमितिमा युवा संयोजक रहेका सुदन थापा विगत २१ वर्षदेखि जापानलाई कर्मथलो बनाउँदै एनआरएनए एनसीसी जापानको स्थापनाकाल देखिनै आबद्ध भएर क्रियाशील छन । एनसीसीमा कार्यसमिति सदस्यदेखि आईसीसीमा युवा संयोजकसम्मको एनआरएनए यात्रामा थापाले सधै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर बेग्लै पहिचानसमेत बनाएका छन ।
उनले एनसीसी जापानको कार्यसमिति सदस्य २ कार्यकाल, उपाध्यक्ष, अध्यक्ष, आईसीसीको युवा प्रतिनिधि हुँदै हाल आईसीसीको युवा संयोजकको जिम्मेवारी सम्हाल्दै आएका छन । भने यस वर्ष हुन गइरहेको वर्ष २०२३–०२५ एनआरएनए नेतृत्वका लागि थापाले एनआरएनए आइसीसीको कोषाध्यक्षमा उम्मेदवारी दिएका छन ।