खैरहनी । लघुवित्त संस्थाका पीडितहरुको भेला चितवनको खैरहनीमा सम्पन्न भएको छ । भेलाले सुधा पाठकको अध्यक्षतामा संघर्ष समिति पुनर्गठन गरेको छ । सचिवमा शिवकान्त चौधरी रहेको समितिमा अन्य पदाधिकारी र सदस्य पछि चयन गर्ने भेलाले निर्णय गरेको छ । आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरूद्ध सशक्त आन्दोलन गर्नेसमेत भेलाले निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गर्दौ संघर्ष समितिको गण्डकी इन्चार्ज धनकुमारी विकले जिल्ला–जिल्ला एकजुट भएर केन्द्रमा दबाब दिन जरूरी भएको बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण भएको कारणले गर्दा माग पूरा भएन’, विकले भनिन्, ‘शोषणमा परेका छौँ । रोडमा कराएर मात्र भएन, हाम्रो पीडा सरकारले बुझेन र न्याय दिन सकेन, अब कडा आन्दोलन आवश्यक छ ।’ सरकारले वार्तामा भएको सहमतिमा हामी चुप लागेर बसेको भन्दै उनले अब चुप लागेर बस्ने अवस्था नरहेको बताइन् ।
बागमती प्रदेश संयोजक छत्रबहादुर मोक्तानले न्यायका लागि एकजुट भएर सरकारलाई दबाब दिन जरूरी रहेको बताए ।
पीडितले न्याय पाउनुपर्नेमा सरकारले हाम्रो गाँस, बास, कपास नै खोसेको उनले बताए । दिदीबहिनीहरुले लघुवित्तबाट केही कर्जा लिएर काम गर्छु भन्दा सरकार किन निरीह भएको र लघुवित्तको कारणले गर्दा भूमिहीन हुन बाध्य भएको भन्नेबारेमा मोक्तानको आक्रोश थियो । फागुन १ गतेबाट काठमाडौँकेन्द्रित आन्दोलन हुने उनले जानकारी दिए । अब लघुवित्तीय संस्था घरमा आउने, फोन गर्ने गरेमा एकजुट भएर त्यसको सामना गर्ने सहभागीको जोड थियो ।
नवसामन्तीको रुपमा खोलिएका लघुवित्त संस्था खारेज हुनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, जनपक्षीय मौद्रिक नीति लागू गर्नुपर्ने, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम खारेज गर्नुपर्नेलगायत माग राखेर लघुवित्त संस्थाबाट पीडितहरु आन्दोलित छन् ।