चितवन । चितवनका आदिवासी जनजातीको संस्कृतिको संरक्षण गर्ने उद्धेश्यसहित नारायणगढको नारायणी नदी किनारमा महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ चितवनको आयोजनामा यही आउंँदो चैत्र ९ देखि चैत्र १८ गतेसम्म प्रथम आदिवासी जनजाति सांँस्कतिक तथा व्यापारिक महोत्सव हुने भएको हो । आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक महेन्द्र दुराले स्थानीय उत्पादनको प्रर्वद्धन गर्न र आदिबासी जनजातीहरुको भाषा, कला , संस्कृति संरक्षण गर्न पनि महोत्सव गर्न लागिएको बताउनु भयो । ‘महोत्सवले स्थानीय उत्पादन र व्यवसायको पनि प्रर्वद्धन गर्न टेवा पुग्छ , दुराले भन्नुभयो , हाम्रो संस्कृतिको पनि सरक्षण र जगेर्ना हुन्छ ।’ भरतपुर भ्रमणबर्ष चलिरहेको बेला यहांँ १७ वटा जनजातिको कला भेषभुषा तथा रितीरिवाज लगायतको पनि पर्यटकले अवलोकन गर्न सक्ने उहांँको भनाई छ ।
महोत्सवले आदिवासीहरुको सांस्कृतिक पक्षको उजागर हुनुको साथै आर्थिक गतिविधि चलायमान हुन टेवा पुग्ने उहांँले बताउनु भयो ।
महोत्सवमा स्थानीय उत्पादन, जनजातिका कला संस्कृतिका स्टल, आइटी, साना तथा घरेलु व्यवसायका स्टल, अटो तथा जनजातिले उत्पादनका गरेका कृषि तथा हस्तकला लगायत ३०० वटा स्टल हुने आदिवासी जनजाती महासंघ चितवनका संरक्षक पदम बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
उहांँका अनुसार १० दिन चल्ने उक्त महोत्सवमा दुईलाख अवलोकनकर्ताले अबलोकन गर्ने एक करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा ८० लाख खर्च हुने अनुमान छ । महोत्सवमा दर्शक आकर्षिक गर्न स्थानीय कलाकारको प्रस्तुति तथा बाल उद्यान लगायतका खेलहरु पनि राखिने आयोजकले जानकारी दिएको छ ।