चितवन । चितवनको देवघाटदेखि हलेसी हुँदै सगरमाथाको जिल्ला सोलुखुम्बु फाप्लु सम्म मोटर र्याली हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रवद्र्धन, मोटर टुरिजम तथा मोटर स्पोटर्सलाई प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो वैशाख ५ गते नासा नेपाल बागमती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसियसनले संयुक्त रुपमा र्याली आयोजना गर्न लागेको हो ।
र्यालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विहान ८ बजे समुद्घाटन गर्ने कार्यक्रम तय भएको नासा नेपाल बागमती प्रदेशका अध्यक्ष राजन पियाले जानकारी दिए । यस र्याली अन्तरगत दुई वटा प्रतियोगिता अटो जिमखाना र मोटर्स टर्निङ एण्ड टिडिएस र्याली हुनेछ । मोटर र्यालीको रेसिंग विधा अन्तरगत टिडिएस (टाईम डिस्टेन्स स्पीड) अन्तरगत गन्तव्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृति हेरेर एभ्रेज स्पिड दिएको हुन्छ । सहभागि मध्ये जो गन्तव्यमा आयोजकले दिएको एभ्रेज स्पीड समयमा पुग्न सक्छ उसैले प्रतियोगिता जित्ने आयोजकले जनाएको छ ।
त्यस्तै मोटर रेसिंग सर्किट विधा अटो जिमखाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरी कलात्मक हिसाबले डिजाइन गरिएको हुन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्न सक्ने छ । यो प्रतियोगिता र्यालीको क्रममा खोटाङको हर्कपुर, सुनकोसी किनारमा गरिने संघका अध्यक्ष पियाले जानकारी दिए । यस प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागिता गराउने योजना रहेको उनले बताए ।
यस्तै टिडिएस (टाईम डिस्टेन्स स्पीड) र्याली देवघाट भरतपुरदेखि सुरु भई हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिव ३२७ किलोमिटर ट्रयाकमा हुने अध्यक्ष पियाले जानकारी दिए । यस प्रतियोगितामा २५ देखि ३० जना ड्राइभर सहभागि गराउने योजना रहेको उनले बताए ।
र्याली कार्यक्रममा ड्राइभर्स, मार्सल र अन्य प्राविधिक गरी १२४ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमका सहभागिले एक गाडी दर्ता शुल्क ७ हजार बुझाउनुपर्ने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका उपाध्यक्ष इन्द्र रेग्मीले जानकारी दिए । जसमा दुई जना सहभागि हुने पाउने छन् । थप सहभागि हुन चाहे प्रति व्यक्त ४ हजार दरले शुल्क बुझाउनुपर्ने रेग्मीले जानकारी दिए । दुई रात तीन दिन लाग्ने यस कार्यक्रममा सहभागिहरुलाई खाना तथा बस्ने व्यवस्था मिलाईएको छ । यस्तै सहभागिहरुको लागि दुर्घटना बिमा समेत गरिएको रेग्मीले बताए । उनका अनुसार प्रतियोगिताको समापन समारोह आलढुंगाको ढापमा गरिने छ ।
चितवनमा यस प्रकारको कार्यक्रमहरु पहिले पनि हुँदै आइरहेका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसियसनका पूर्व अध्यक्ष इश्वर श्रेष्ठले यसअघि पनि चितवन मुक्तिनाथ मोटर र्याली गरिएको बताए । उनले त्यस कार्यक्रममा पनि उत्साहजनक सहभागिता रहेको भन्दै यस कार्यक्रममा पनि उत्साहजनक सहभागिताको अपेक्षा गरे ।