चितवन । नारायणगढ –मुग्लिन सडक अन्तर्गत सडक बिस्तार गर्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर एक्जाभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्ला गेडुवा गाउंँपालिका वडा नम्बर ४ का ३८ बर्षीय मंगल चौधरी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेर १० मिनेट जांँदा ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुलको लागि पहाड काट्ने क्रममा बा २ क ८६५१ नम्बरको स्काभेटरले काम गर्ने क्रममा माथिबाट ढुंगा सहितको पहिरो खसेर चालक चौधरी सहित एक्साभेटर पुरिएको थियो । गम्भिर घाईते उनलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाईएकोमा १० बजेर २२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर एक्साभेटर पुर्णरुपमा क्षति भएको र मुग्लिनबाट नारायणगढ तर्फ जांँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको छ । हाल अवरोध हटाएर दुईतर्फ सडक सञ्चालन भइसकेको प्रहरीले जानकारी दिएको छ ।